गोरखा, १ मंसिर । गण्डकी प्रदेश सरकार मातहतका कार्यालयबाट एकैपटक ठूलो संख्यामा कर्मचारीको सरुवा गर्दा गोरखाको ६ सरकारी कार्यालयका प्रमुखहरु हेरफेर भएका छन् ।
अधिकांश कार्यालय प्रमुखहरु सरुवामा परेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ती कर्मचारीहरु सरुवा गरेको हो ।
प्रदेश सरकारले कृषि ज्ञान केन्द्र गोरखाका बरिष्ठ कृषि प्रसार अधिकृत प्रकाश बस्ताकोटीलाई कृषि बिकास कार्यालय स्याङजा सरुवा गरेको छ भने सोही स्थानमा नवलपुरबा६ कुल प्रसाद तिवारीलाई गोरखा सरुवा गरेको छ ।
सरुवा भएका प्रदेश जन स्वास्थ्य कार्यालय गोरखाका यम प्रसाद शर्मालाई प्रादेशिक स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्र पोखरा र सोही कार्यालयमा सिम्रन काफ्लेलाई गोरखा सरुवा गरिएको छ ।
उता आँपपिपल अस्पतालमा डा.प्रभात सिंह राउतलाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङबाट सरुवा गरि ल्याईएको छ । सरुवा भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा कार्यालय गोरखामा कार्यरत डा.अनन्त कोईरालालाई सोही कार्यालयमा नै सरुवा गरिएको छ । कोइरालाको भने केही दिन अगाडी मात्र भएको पदस्थापनमा उही कार्यालयमा सरुवा गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार विभिन्न समूहमा रहेका ७५ जना कर्मचारीको सरुवामा परेका हुन् । प्रदेश प्रशासन समूहका १३ जना, स्वास्थ्य समूहका २० जना, वन तर्फ ४ जना, कृषितर्फका २७ जनाको सरुवा भएका छन् ।
इन्जिनियरिङ तर्फका १० जनाको सरुवा भएको छ । मन्त्रिपरिषद्बाट मापदण्ड पारित भएपछि सोही आधारमा सरुवाको काम गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।