गोरखा, २४ कात्तिक: गोरखाको सहिद लखन गाउँपालिकाले सोमबार (आज) पालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने नेपालकै प्रसिद्ध धार्मिकस्थलको रुपमा चिनिने मनकामनाको मन्दिरमा गुठी पञ्चमीका अवसरमा विशेष पूजा र मेला लाग्ने भएकाले पालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिनुभयो ।
गाउँ कार्यपालिकाको आइतबार बसेकोे बैठकले गुठी पञ्चमीमा पालिका भित्र विदा दिने निर्णय गरेको उहाँले बताउनुभयो । सार्वजनिक विदाका दिन पालिकामातहतका सबै सरकारी कार्यालयहरु र विद्यालय बन्द रहनेछन् । मनकामना मन्दिरको प्राङगढमा गुठी पञ्चमीका दिन ठूलो मेला लाग्ने परम्परा रहँदै आएको छ ।
उक्त मेलामा देशका बिभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजनहरु मनकामना मन्दिरको दर्शन गर्नका साथै पूजाआजा र मेला हेर्न आउने गर्दछन् । ऐतिहासिक र धार्मिक गन्तव्यका रुपमा परिचित मनकामना मन्दिरमा यसदिन भजनकिर्तन र गुठीका परम्परागत विधिहरुसमेत सम्पन्न गरिन्छ ।
मनकामना मन्दिरको धार्मिक र सांस्कृतिक महत्वलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ गाउँपालिकाले हरेक बर्ष पालिका भित्र गुठी पञ्चमीका दिन सार्वजनिक विदा दिदै आएको गाउँपालिकाले जनाएको छ ।