गोरखा, २३ कार्तिक । जेनजी आन्दोलनका क्रममा घाइते भएका गोरखा जिल्लाका घाइतेहरुलाई उपचार खर्चका लागि परिचयपत्र वितरण गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले आइतबार सूचना जारी गर्दै गत भदौ २३ र २४ गते भएको आन्दोलनमा घाइते भएका व्यक्तिहरुलाई गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा प्रतिव्यक्ति बीस हजार रुपैयाँ उपचार खर्च वितरणका लागि परिचय पत्र उपलब्ध गराउन लागिएको जनाएको छ ।
मन्त्रालयबाट उपलब्ध गराइएको प्रारम्भिक विवरणका आधारमा जेनजी आन्दोलनका ८ जना घाइतेलाई भैपरी आउने खर्च उपलब्ध गराउन लागेको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले सूचनामार्फत जानकारी दिनुभएको छ ।
प्रसासनका अनुसार प्रारम्भिक वितरणका आधारमा ३१ बर्षका सन्तोष गुरुङ, सन्तोष गुरुङ, २० बर्षका सुजीत थापा, १८ बर्षका रोशन रेग्मी, २८ बर्षका अर्जुन भट्ट १५ बर्षका सन्जिला गुरुङ, ३२ बर्षका धुव्र परियार, ३६ बर्षका कुमर अधिकारी र २५ बर्षका दिवसवावु श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई भैपरी आउने खर्च बापत प्रतिव्यक्ति २० हजार रुपैँया उपलब्ध गराइने प्रसासनले जनाएको छ । घाइतेहरुले आफ्नो नागरिकता, दुई प्रति पासपोर्ट साइज फोटो, उपचारत अस्पतालको मेडिकल रिपोर्ट, बैंक खाता भएको चेकको प्रतिलिपि, स्वीकृति पत्र र निवेदनसहित जिल्ला प्रशासन कार्यालय गोरखा उपस्थित हुनुपर्ने जनाइएको छ ।
