गोरखा, १६ कात्तिक । उत्तरी गोरखाको मनास्लु पदमार्गमा आवतजावत खुल्ला गरिएको छ । अत्याधिक हिमपात र बर्षाका कारण पहिरोको जोखिम बढेपछि गएको विहिबारदेखि आवतजावतका बन्द गरिएको पदमार्ग आजदेखि खुल्ला गरिएको जिल्ला प्रसासन कार्यालय गोरखाका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
पदायात्रामा निस्किएका पर्यटकलाई पथप्रर्दशकको सहयोगमा पदमार्गको आवश्यक सूचना लिएर सुरक्षित आवातजावत गर्न पनि प्रसासनले अनुरोध गरेको छ । ‘‘मौसममा क्रमिक सुधार हुने जल तथा मौसम विज्ञान विभागको सूचनापछि पदमार्ग खुल्ला गरिएको हो, उहाँले भन्नुभयो, ‘‘पदयात्राका क्रममा समस्या परे मनास्लु संरक्षण क्षेत्र, नजिकको सुरक्षा निकायबाट जानकारी लिन भनिएको छ ।’’
मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले मनास्लु पदमार्गमा पदयात्रामा निस्कदा मौसमसम्बन्धी जानकारी लिएर निस्कन र बर्षाका कारण केही ठाउँमा पदमार्ग बिग्रिएकाले सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । ‘‘अहिलेको अवस्था हेर्दा अधिकांश मार्ग खुला छन् तर केही भागमा हिउँ जमेको र बाटो बिगिएकाले सावधानी अपनाउनु आवश्यक छ ।’’
अत्याधिक हिमपात र बर्षाका कारण केही दिनदेखि मनास्लु क्षेत्र घुम्न पुगेका पर्यटकहरु बाटोबाटै फर्किएका थिए ।