गोरखा, १ कार्तिक । गोरखा जिल्ला प्रशासन कार्यालयले तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्लाभरका नागरिकलाई केही प्रतिबन्धात्मक तथा सावधानीपूर्ण निर्देश जारी गरेको छ । प्रशासनले देउसी–भैलो, नाचगानलगायतका सांस्कृतिक कार्यक्रमहरू बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाद्धारा हस्ताक्षर सहित जारी सुचनामा जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था र अमनचयनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उल्लेख छ ।
सूचनामा भनिएको छ — आसन्न तिहार तथा छठ पर्व उत्सवपूर्वक मनाउने क्रममा कसैको इच्छा–चाहना विरुद्धका गतिविधि नगरी, स्वतन्त्र र खुशीयालीपूर्वक चाडपर्व मनाउन सबैलाई आग्रह गरिएको छ ।
प्रशासनले यस अवसरमा पटका, आतिसबाजी जस्ता विस्फोटक पदार्थहरूको आयात, ओसारपसार, बिक्री–वितरण र प्रयोग नगर्नुहुन अनुरोध गरेको छ। साथै, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने, झै–झगडा गर्ने तथा समाजमा अशान्ति सिर्जना गर्ने कार्य नगर्नु चेतावनी दिएको छ ।
त्यस्तै अखाद्य रङ मिसाइएका मिठाई, झिलाङ्गे रोटी, म्याद गुज्रेका भाईमसला तथा प्लास्टिकजन्य फुलमालाको प्रयोग र बिक्री–वितरण नगर्नु पनि प्रशासनले आग्रह गरेको छ ।
सूचनामा भनिएको छ — यी निर्देशनहरूको उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । अन्त्यमा, जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण जिल्लाबासीलाई तिहार र छठ पर्वले विविधता बीचको एकता, आपसी सहयोग र सद्भावको भावना जागृत गरोस् भन्ने शुभकामना व्यक्त गरेको छ ।