गोरखा, ९ असोज । गोरखा, अजिरकोट गाउँपालिकाले वडा नम्बर ३ स्थित भच्चेक बजारको “अस्पताल मार्ग” क्षेत्रमा गाउँपालिकाको सडक मापदण्ड विपरितका घर टहरालगायतका संरचना भत्काउन निर्देशन दिएको छ ।
गाउँपालिकाले बुधबार सार्वजनिक सूचनामार्फत उक्त सडकखण्डमा कालोपत्रको काम अघि बढाउन टेण्डर आवहनको प्रक्रिया अघि बढी सकेकाले मापदण्ड विपरितका संरचना हटाउन निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।
गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम अनुसार समयमा नसडक कालोपत्रको काम सम्पन्न गर्नका लागि ठेक्का आवहन भइसकेको उहाँले बताउनुभयो ।
गाउँपालिकाले प्रकाशित सूचनाअनुसार, स्थानीय यातायात गुरुयोजनामा तोकिएको मापदण्डअनुसार सडकको केन्द्रदेखि दायाँ–बायाँ ३ दशमलब ५, ३ दशमलव ५ मिटर गरी कम्तीमा सात मिटर चौडाइ कायम हुनेछ ।
पालिकाको सडक मापदण्डभित्र पर्ने घर, टहरा, छानो, पर्खाल, पसल तथा अन्य अस्थायी संरचना सम्बन्धित घरधनी, व्यवसायी तथा स्थानीय बासिन्दालाई समयमा नै हटाउन आग्रह हो ।
“सडक निर्माण हाम्रो दीर्घकालीन यातायात योजना अनुसारको महत्वपूर्ण परियोजना हो, गाउँपालिका अध्यक्षा देवकोटाले भन्नुभयो, ‘‘स्थानीयको सक्रिय सहयोग बिना यो योजना सफल हुन सक्दैन, त्यसैले सबैले समयमै संरचना हटाएर विकास कार्यलाई सहज बनाउनुपर्ने छ।”
गाउँपालिका कार्यालयले यस परियोजना सम्पन्न भएपछि भच्चेक बजारदेखि अस्पताल मार्गसम्मको आवतजावत सुगम हुने, व्यापारिक गतिविधि बढ्ने र स्वास्थ्य सेवामा पनि पहुँच सहज हुने विश्वास व्यक्त गरेको छ ।
