गोरखा, ८ असोज । दशैं तिहारलगायतका चाडपर्वलाई लक्षित गरी गोरखा जिल्लामा सुरक्षित र व्यवस्थित यातायात सेवा सञ्चालन तथा प्रभावकारी बजार व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय गोरखामा मंगलबार समन्वय बैठक सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामु राज कडरियाको अध्यक्षतमा बसेको बैठकले यातायात व्यवस्थापनलाई थप सहज बनाउन आवश्यक समन्वय गर्ने र तयार बजार अनुगमनलाई तिव्र पार्ने निर्णय गरेको हो ।
बैठकले दशैंतिहारका समयमा यात्रुहरूको सहज आवागमन र सुरक्षित यातायात सुनिश्चित गर्न सार्वजनिक सवारीसाधनमा टिकट काट्ने व्यवस्था अनिवार्य गर्ने र अनिवार्य यान्त्रिक जाँच गराएर मात्रै सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको प्रजिअ कडरियाले जानकारी दिनुभयो ।
त्यस्तै चालक, सहचालक तथा यातायात व्यवसायीलाई क्षमता भन्दा बढी यात्रु हालेर सवारी नचलाउन सचेत गराउने, यात्रुको चाप बढेमा सम्बन्धित निकायमार्फत थप सवारीसाधन उपलब्धताका लागि आवश्यक व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले दशैं तिहारलगायत चाडबाडका अवधिको बजार अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय समेत छ । बजारलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन सबै पसलमा मूल्यसूची टाँस्ने, खरिद बिक्रीमा बिलको अनिवार्य प्रयोग गर्ने र म्याद नाघेका वा गुणस्तरहीन सामान बिक्री वितरण नगर्न नगराउन अनुगमन तिव्र पारिने प्रजिअ कडरियाले बताउनुभयो ।
साथै, अखाद्य र स्वास्थ्यलाई हानि पु¥याउने पदार्थ विशेषगरी रंगिन झिनियाँ तथा मिसावटयुक्त खाद्यवस्तु बिक्री नगर्न÷नगराउन प्रसासनले सवै व्यवासायीहलाई निर्देशन गरेको छ ।
उहाँले जनताले चाडपर्व निश्चिन्त भएर मनाउनसक्ने वातावरण बनाउन सबै सरोकारवालाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत वराल, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भरत बहादुर वि.क., उद्योग बाणिज्यसंघ, जिल्लास्थित यातायात व्यवसायीसंका प्रतिनिधिलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता थियो ।