Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

मुग्लिन-नारायणगढ सडकखण्ड खुल्ने अनिश्चित


735
Shares

मुग्लिन-नारायणगढ सडकखण्ड खुल्ने अनिश्चित

चितवन, ८ असोज । मङ्गलबार दिउँसो ठुलो पहिरो गएपछि मुग्लिन – नारायणगढ सडकखण्ड कहिले सञ्चालनमा आउने भन्ने अनुमान गर्न सकिएको छैन ।

सडकखण्डको तुइनखोलमा पहाडको एउटा ठुलै भाग सडकमा खसेपछि मङ्गलबार दिउँसो ३ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले १४ हजार घनमिटरभन्दा धेरै सामग्री थुपारेको कारण पन्छाउन कति समय लाग्ने अनुमान गर्न नसकिएको बताउनुभयो ।

“यस सडकखण्डमा अहिलेसम्मकै ठुलो पहिरो आएको छ,” उहाँले भन्नुभयो, “पन्छाउने कामलाई निरन्तरता दिएका छौं तर कति समयमा सकिन्छ भन्न सकिँदैन ।” पहिरो आए लगतै प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी प्रमुख गोविन्द पुरीसहितको टोलीले मुग्लिन जाँदै गरेका यात्रुलाई फर्काएर नारायणगढ ल्याउनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो, “पहिरोले यात्रु रोकिएपछि प्रहरीको बसबाट फर्काएर नारायणगढ ल्याएका छौं । छिटो यातायात सञ्चालनको लागि प्रयत्नमा छौं तर कहिले खुल्छ भन्न सकिने अवस्था छैन ।” दिउँसो ४ बजेदेखि पहिरो स्थलमा खटिनुभएका अर्यालसहितको सुरक्षा प्रमुखको टोली राति १ बजे फर्केको थियो । बुधबार बिहान फेरि घटनास्थल पुगेर राजमार्ग खुलाउने प्रयासमा लागेको अर्यालले जानकारी दिनुभयो ।

अझै पनि पहिरो गएको स्थलमा माथिबाट ससाना पहिरो आइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । माथिबाट थप ठुलो पहिरोको सम्भावना कम रहेपछि झर्न बाँकी रहेका ढुङ्गाहरू पूर्णरुपमा तल नझरिसकेको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी आचार्यले बताउनुभयो ।

 

अझै साना तथा मझौला स्तरका ढुङ्गाहरू झर्न सक्ने सम्भावना छ । कार्यालयका उपकरणहरु आफू सुरक्षित रहँदै निरन्तर रुपमा पहिरो सफा गर्ने कार्यमा लागि रहेको जानकारी दिनुभयो । पहिरो पन्छाउन समय लाग्ने हुँदा वैकल्पिक राजमार्ग प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना प्रकाशित गरी तत्काल मुग्लिनको बाटो सञ्चालन गर्न नसकिने भएकाले राजधानी आउन जान अन्य बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।

राजधानी काठमाडौंबाट तराई आएका सवारीसाधन मुग्लिनमा रोकिएका छन् । बाटो खुल्ने अनिश्चित भएपछि यात्रुको बिचल्ली भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology