गोरखा, ४ असोज । नेपाल कराँते महासंघ गोरखाको आयोजनामा गोरखा दोस्रो जिल्ला स्तरीय मेयरकप कराते प्रतियोगिता २०८२ हुने भएको छ । महासंघले शनिबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरेर आउदो कात्तिक १५ गते प्रतियोगिताको आयोजना गर्न लागेको जनाएको छ ।
गोरखा नगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा महिला र पुरुष तर्फका गरि बिभिन्न ९ वटा तौल समुहका जिल्ला भित्रका खेलाडीहरुले सहभागिता जनाउन पाउने महासंघ गोरखाका अध्यक्ष ग्याम्जो लामाले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुष र महिला तर्फ २० केजी, २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी तौल समुहका खेलाडीहरुको सहभागिता रहेको उहाँले बताउनुभयो । त्यस्तै पुरुष र महिला एकल काता तर्फको प्रतियोगितासमेत हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा जिल्लाभरबाट करिब १२० जना खेलाडीको सहभागिता रहने अनुमान गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा प्रथम हुने १५ जना, दोस्रो हुने १५ जना, तेस्रो हुने ३० जना खेलाडीलाई नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजना सञ्चालनका लागि गोरखा नगरपालिकाले रु ३ लाख आर्थिक सहयोग उपलब्ध गराउने र बाँकी रकम अन्य स्थानीय तह तथा संघसंस्थाबाट सहयोग जुटाउने अध्यक्ष लामाको भनाइ छ ।
खेल क्षेत्रमार्फत गोरखा जिल्लालाई चिनाउन र जिल्लामा उत्कृष्ठ खेलाडीहरु उत्पादन गर्ने, जिल्ला भित्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्री उत्पादन गर्ने नेपाली करातेलाई सरकारी तथा नीजि विद्यालयसम्म विस्तार गर्दै कराते खेलको विस्तार र प्रवद्र्धृन गर्ने प्रतियोगिताको उद्देस्य रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब रु ५ लाख ५६ हजार खर्च हुने अनुमान गरिएको छ ।