काठमाडौं, ४ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बनेका सडकहरू विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र सडक खुल्ने गरी काम अगाडी बढाएको बताउनुभएको छ ।
शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकमा उनले चाडपर्वमा यातायात सहज बनाउनेगरी सडक विभागले काम गरिरहेको जानकारी दिनुभएको हो ।
हाल मौसमका कारण सडक अवरुद्ध भएको उल्लेख गर्दै उहाँले सडक खुलाउन मन्त्रालय र सडक विभागको टिम सक्रिय रहेको पनि जानकारी गराउनुभयो ।
पृथ्वी राजमार्ग र मुग्लिङ खण्डको तुइन खोलामा रातिदेखि सडकको काम रोकिएको बताउनुभयो । सडक सफा गर्न शुरु गरेको ४ घण्टामा सो सडक खुल्ने उहाँको दाबी छ ।
‘हामीले शुरु गर्न पायौँ भने अहिले हाम्रो त्यहाँ टिम पुगिसकेको छ । डिजी नै त्यहीँ हुनुहुन्छ, हिजोपनि त्यही थियो । अब त्यो सफा गर्न पाएपछि ४ घण्टामा बाटो खुुल्छ,’ उहाँले भन्नुभयो ।
पहिरो सक्रिय अवस्थामा रहेको बेलामा भने काम गर्न नसकिने उहाँको भनाइ छ । सो स्थानमा पहिरो सफा गर्न सडक विगागको टोली पुगिसकेको पनि जानकारी गराउनु भयो । सडक विभागले आधा घण्टादेखि एक घण्टाभित्र घटनास्थलमा पुग्ने गरी मेसिन राखेको पनि उहाँले दाबी गर्नुभएको छ ।
‘हाम्रो ईक्वीमेन्टहरू चाहीँ हाईवेको सम्पूर्ण ठाउँमा आधा घण्टादेखि एक घण्टासम्म त्यो स्थलमा पुग्न भ्याउँछ, त्यसरी हामीले मेसिन राखेका छौँ,’ उहाँले भन्नुभयो, ‘काम थालेको ४ देखि ६ घण्टाभित्र चाहीँ सफा गर्ने, एकदमै अफ्ठ्यारो अवस्था बाहेक । जस्तो अब खसेको खसेकै गर्यो भने त्यो सकिँदैन । विशेष परिस्थितिमा बाहेकमा गर्नेगरी छ ।’
बैठकमा मन्त्री कुलमान घिसिङले चाडपर्वमा यातायात सहज बनाउन कसरी फास्ट ट्रयाकमा काम गर्ने भनेर आन्तरिक छलफलपछि समस्या समाधान गरिने बताउनुभयो ।
बैठकमा सहभागी यातायात व्यवसायीहरूले रात्रिबस दिउँसो चलाउन माग गरेका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पहिरो बाढी पहिरोका कारण अहिलेको परिस्थिति नाजुक रहेको बताउँदै रातको समयमा चल्ने बसलाई दिउँसो चलाउनु उपयुक्त हुने बताएका थिए ।
बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।