Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

माओवादी केन्द्र गोरखाद्वारा संविधान दिवस २०८२ को अवसरमा अन्तरक्रिया


2.1K
Shares

माओवादी केन्द्र गोरखाद्वारा संविधान दिवस २०८२ को अवसरमा अन्तरक्रिया

गोरखा,३ भदौ — संविधान दिवस २०७३ को अवसरमा नेकपा माओवादी केन्द्र जिल्ला समिति गोरखाले आज जिल्ला पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वक्ताहरूले संविधानको उपलब्धि, वर्तमान राजनीतिक अवस्था, नेतृत्व हस्तान्तरण र पार्टी संगठनलाई बलियो बनाउने विषयमा धारणा राखेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका जिल्ला इन्चार्ज अमर तमुले वर्तमान अवस्था सहज र सामान्य नरहेको उल्लेख गर्दै पछिल्लो समय माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले राजनीतिक परिस्थितिको गहिरो विश्लेषण गरेको जानकारी दिनुभयो। उहाँले शासनसत्ता जनतालाई राहत दिन नसक्दा विद्रोह जन्मिएको र कुशासन तथा भ्रष्टाचारले देशलाई अराजकतामुखी बनाएको बताउनुभयो । उहाँका अनुसार माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा जोडतोडका साथ उठाए पनि पुराना दलहरूकै कारण कार्यान्वयन हुन नसकेको हो।

इन्चार्ज तमुले माओवादीले सञ्चालन गरेको जनयुद्ध केवल राजतन्त्रविरुद्ध मात्र नभई दलाल पुंजीवादविरुद्ध पनि भएको बताउनुभयो । “त्यो आन्दोलनले दलाल पुंजीपतिलाई चुनौती दिएको थियो तर आज त्यही दलाल पुंजीवादीहरूले माओवादीलाई कांग्रेस–एमाले सरह देखाउने षड्यन्त्र गरेका छन्,” उहाँले भन्नुभयो ।

त्यसैगरी अधिवक्ता यादव बस्नेतले नेपालको वर्तमान संविधानको महत्वबारे धारणा राख्दै संविधानको कार्यान्वयन र संरक्षणमा सबै दल जिम्मेवार हुनुपर्ने बताउनुभयो।

प्रदेशस्तरीय नेता डिलबहादुर सेन्चुरीले माओवादी केन्द्रले आफ्ना वर्गीय आधारलाई बिर्सिंदै गएको कारण पार्टी कमजोर बन्दै गएको बताउनुभयो। उहाँले “हिजोको माओवादी पार्टी बनाउन सबै नेताहरू सुध्रनु आवश्यक रहेको भन्दै संगठनलाई पुरानै जनवादी धारमा फर्काउन आग्रह गर्नुभयो।

जिल्ला सचिव अकुर तिमल्सिनाले कम्तीमा संविधान सुरक्षित भएकोमा जोड दिँदै अहिले पार्टी र नेतृत्वको रक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले नेतृत्व हस्तान्तरण आवश्यक भए पनि त्यो विधि र प्रक्रियाबाट हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले वर्तमान संविधानको कार्यान्वयनलाई व्यवहारिक बनाउनुपर्ने, भ्रष्टाचार र कुशासनविरुद्ध निरन्तर संघर्ष आवश्यक रहेको र माओवादी केन्द्रलाई जनतासँग अझ मजबुत रूपमा जोड्नुपर्नेमा एकमत व्यक्त गरेका थिए।

माओवादी केन्द्र गोरखाद्वारा आयोजित यो अन्तरक्रियाले संविधान दिवसको सन्दर्भमा दलभित्रको आत्मसमालोचना र संगठन पुनःनिर्माणका सवाललाई बलियोसँग उजागर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology