गोरखा, २७ भदौ । गोरखामा सक्रिय ५ राजनैतिक दलले आज एक संयुत्त प्रेश विज्ञप्ती निकालेर भाद्र २३ र २४ गते भएको घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कडा कारवाही गर्न जोडदार माग गरेका छन् ।
जिल्लामा क्रियाशिल नेपाल समाजबादी पार्टी नयाँ शक्ति, नेकपा एकीकृत समाजबादी, नेकपा माओबादी केन्द्र, नेकपा एमाले र नेपाली काँग्रेस गोरखाले संयुत्त प्रेश विज्ञप्ती निकालेर कारवाहीको दायरामा ल्यान भनेको हो ।
नयाँ शक्तिका जिल्ला संयोजक यान प्रसाद भट्ट, समाजबादीका जिल्ला अध्यक्ष यादव बस्नेत, माओवादी केन्द्रका जिल्ला संयोजक छम बहादुर गुरुङ, एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र थापा र काँग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानले गरेको संयुक्त हस्ताक्षरित प्रेश विज्ञप्तीमा ‘देशलाई शान्ति र पुनः निर्माणको दिशामा अघि बढाउन हामी सबै पक्षले संयम र एकताका साथ प्रस्तुत हुन जरुरी छ’ भनिएको छ ।
‘मुलुकको समुन्नती र सुन्दर भविष्यको लागि लोकतान्त्रिक प्रणालीको बाटोलाई नविन ढंगले सुनिश्चित गर्ने दायित्व प्रति हामी सबै गम्भीर हुन आवश्यक छ । मुलुकको सार्थक हित चाहने, शान्ति चाहने, शुशासन र सुदृढ लोकतन्त्रको यात्रामा हिड्न सबैमा हामी हार्दिक आब्हान गर्दछौं’ भन्दै बिज्ञप्तीमा ‘यो बिषम परिस्थितिमा सबै पक्षसंग बार्ता र संबाद मार्फत विद्यमान संविधानको दायरा भित्रबाटै जेनजी पुस्ताको भावना बमोजिम निकास दिनको लागि सम्माननीय राष्ट्रपति ज्यू समक्ष माग गर्दछौ’ भनिएको छ ।