गोरखा, २६ भदौ । केही दिन अगाडी मात्र जेनजीले गरेको आन्दोलनका कारण देशैभरका शिक्षण संस्था अनिश्चित कालका लागि बन्द गरिएको छ ।
तर त्यसको ठिक विपरित उत्तरी गोरखामा रहेको बारपाक सुलिकोट गाउँपालिका क्षेत्र भित्रका सबै बिद्यालय निर्वाध रुपमा सञ्चालनमा आएको छ ।
बिद्यार्थीहरु घरमा रहदा अनावश्यक कुरामा अल्झने भन्दै गाउँपालिकाको शिक्षा शाखाले सबै बिद्यालय सञ्चालनमा ल्याएको पालिका अध्यक्ष बिण्णु प्रसाद भट्टले जानकारी दिनुभयो ।
‘बिद्यार्थी भाईबहिनीहरु घरमा बस्दा पनि उनीहरुलाई तनाव हुन्छ’ उहाँले भन्नुभयो ‘हामीले बिद्यार्थीहरुको तनाव कम गर्न र अनावश्यक कुरामा नलाग्नकैलागि बिद्यालय सञ्चालनमा ल्याएका हौ ।’
बिद्यालयहरु सञ्चालनमा आएसंगै सबै बिद्यार्थीहरु विद्यालय पुगेर अध्ययन थालेका छन् । पालिका भित्र रहेको ३१ बिद्यालयमा करिब ३ हजार ५०० बिद्यार्थीहरु अहिले अध्ययन गरीरहेको पनि अध्यक्ष भट्टले बताउनुभयो ।