गोरखा, २४भदौ – राजधानी काठमाडौंसहित देशभर जेनेजी युवाहरूले सुशासन, भ्रष्टाचारमुक्त समाज, स्थिर सरकार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध खारेजीको मागसहित आन्दोलन गरिरहेको अवस्थामा सरकारले गरेको गोली प्रहार र निर्मम दमनप्रति अजिरकोट गाउँपालिकाले घोर निन्दा र भर्त्सना गरेको छ।
गाउँ कार्यपालिकाको कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा आन्दोलनमा सहभागी विद्यार्थीमाथि गरिएको गोली प्रहारलाई नेपाली इतिहासकै कलंक भन्दै तीव्र आलोचना गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “कापी कलम बोकेर स्कूलबाट आन्दोलनमा निस्किएका भाइबहिनीहरूलाई गोलीद्वारा दमन गर्ने सरकारको जतिसुकै निन्दा र भर्त्सना गर्दा पनि कम हुन्छ।”
अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनका क्रममा मृत्यु हुने सबै जेनेजी युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। साथै, घाइतेहरूको उपचारका लागि गाउँपालिकाले आफ्ना जनप्रतिनिधिहरूको सुविधाबाट एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरिएको छ।
त्यसैगरी, जेनेजी आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण विद्यालयहरूमा सञ्चालन भइरहेको परीक्षा स्थगित गरी श्रद्धाञ्जली सभा सम्पन्न गर्न निर्देशनसमेत दिएको छ।
विज्ञप्तिमा अझ भनिएको छ, “न्याय, समानता र समृद्ध नेपाल निर्माणमा जेनेजीको अभियान सफल होस् भन्ने शुभकामना व्यक्त गर्दछौं।”
अजिरकोट गाउँपालिकाको यो निर्णयले आन्दोलनप्रति स्थानीय तहको समर्थन देखाएको छ। गाउँपालिकाले मृतक र घाइते परिवारलाई तत्काल सहयोग तथा दीर्घकालीन न्याय सुनिश्चित गर्न राज्यलाई पनि आग्रह गरेको छ। गाउँपालिकाले जेनजी आन्दोलनमा घाइते भएकाहरु शिग्र स्वास्थ्य लाभको कामना गर्दै पालिका भित्रका जनप्रतिनिधिहरुको सुविधाबाट रु १ लाख सहयोगको घोषणा गरेको छ ।