गोरखा २१, भदौ : नेकपा (माओवादी केन्द्र) ले सुरु गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित केन्द्रीय अभियान भोलि गोरखा आइ पुग्ने भएको छ ।
केही महिनाअघि रोकिएको अभियान शनिबार लमजुङबाट सुरु भएर आइतबार गोर्खा आइपुग्न लागेको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित पार्टीको सिङ्गो हेडक्वाटर सोमबार गोर्खामा विभिन्न कार्यक्रममा सहभागी हुनेछ।
अध्यक्ष प्रचण्डको पहाडी लोकमार्ग अन्तर्गत गोरखा जिल्लामा हुने कार्यक्रमलाई भव्य बनाउन पार्टीले सबै तयारी पूरा गरेको नेकपा माओवादी केन्द्र गोरखाका इन्चार्ज अमर तमुले जानकारी भयो सो अवसरमा गोर्खाको पालुङ्टार नगरपालिका सिरानचोक गाउँपालिका भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकामा जनता तथा सहिद परिवार हरूसँग विशेष भेटघाट र जनसंवादको कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष प्रचण्डको नेतृत्वमा केन्द्रीय पदाधिकारी, अभियान टोलीका सदस्यहरू र वरिष्ठ नेताहरू सहभागी हुने अभियानको दोस्रो चरण यही भदौ शनिबारदेखि सुरु भएको हो। नेकपा माओवादी केन्द्र गोरखाका अनुसार अनुसार अभियान टोलीले शनिबार साँझ लमजुङको भोर्लेटारमा वास बस्ने, २२ गते लमजुङमा विविध कार्यक्रम सम्पन्न गरी साँझ गोरखाको पालुङ्टारमा वास बस्ने कार्यतालिका तय भएको छ।
सोही क्रममा अध्यक्ष प्रचण्डसहितको अभियान टोली भदौ २३ गते विहान पालुङ्टारमा वाशु वैरागी स्मृति कार्यक्रम तथा जनसंवाद कार्यक्रममा सहभागी हुनेछ। त्यसपछि सिरानचोक–६, खहरेमा संक्षिप्त जनभेटघाट गरी भिमसेन–१, मशेलमा जनताको घरमा खाना खाएर आरुघाट बजारमा हुने प्रमुख जनसंवाद कार्यक्रममा अभियान टोली सहभागी हुने कार्यक्रम रहेको पार्टीले जनाएको छ।
जिल्ला इञ्चार्ज अमर तमुले गोरखामा हुने कार्यक्रमलाई ऐतिहासिक बनाउने तयारी भइरहेको बताउँदै सम्पूर्ण पार्टी पङ्क्तिलाई अधिकतम सक्रियता देखाउन आह्वान गर्नुभएको छ। उहाँले भन्नुभयो “यो अभियान केन्द्रीय कार्यक्रम मात्र नभई जनसंपर्क र संगठन सुदृढ गर्ने अवसर पनि हो। यसलाई व्यापक, भव्य र व्यवस्थित ढङ्गले सम्पन्न गर्न गोरखामा सबै तयारी पूरा भएको छ।।”
पार्टीले यस अभियानलाई पार्टी कार्यकर्ताबीच उत्साह र ऊर्जा थप्ने, स्थानीय मुद्दाहरूलाई केन्द्रीय नेतासम्म पुर्याउने, र जनतासँग प्रत्यक्ष संवाद बढाउने अवसरको रूपमा उपयोग गर्ने तयारी गरेको छ। जिल्ला स्तरदेखि स्थानीय तहसम्मका सबै पार्टी संरचना, जनसंगठन, समर्थक, शुभेच्छुकलाई कार्यक्रम सफल बनाउन एकताबद्ध भएर लाग्न विशेष अपिल गरिएको छ।
कार्यक्रमहरूलाई भव्य बनाउन तयारी तीव्र पारिएको र जनसहभागिता उच्च बनाउने माओवादी केन्द्र गोरखाले जनाएको छ।