गोरखा, २० भदौ नेपाल विद्युत प्राधिकरण, गोरखा वितरण केन्द्रले आगामी शनिवार, दिनभर जिल्ला भित्रका बिभिन्न स्थानमा बिद्युत सेवा अवरुद्ध हुने जनाएको छ । केन्द्रले गोरखा सदरमुकाम तथा आसपासका क्षेत्रहरूमा दिनभर विद्युत आपूर्ति बन्द हुने जनाएको हो । प्राधिकरणका अनुसार, आंवुखैरेनीदेखि गोरखासम्म प्रशारण हुँदै आएको ३३ के.भि. लाईनको आसपास रहेका रुखका हाँगाबिगा काट्ने तथा लाइन मर्मत गर्ने कार्य तालिका भएकाले शनिबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म गोरखा सब–स्टेशनमार्फत आपूर्ति हुने सम्पूर्ण क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
जसअन्र्तगत महेन्द्रज्योति फिडरमार्फत वितरण भइरहेका स्थानहरू प्रत्यक्ष प्रभावित हुनेछन् । यस्तै, गोरखा नगरपालिका सम्पूर्ण भाग, पालुङटार नगरपालिकाको खोप्लाङ र मिरकोटलगायतका स्थान, भिमसेन गाउँपालिकाको सम्पूर्ण भाग, सिरानचोक गाउँपालिकाको गाँखु, सहिदलखन गाउँपालिकाको सम्पूर्ण भाग, वारपाक सुलिकोट गाउँपालिकाको पन्द्रुङ, पाँचकुवा देउराली, ताकुकोट, तामालकोटलगायतका स्थानमा पनि दिनभर बत्ती नबल्ले प्राधिकरणले जनाएको छ ।
केन्द्रले तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत सेवा तत्काल सुचारु गरिने जानकारी गराएको छ । साथै मौसम प्रतिकूल भई काम गर्न असम्भव भएमा विद्युत आपूर्ति अवरुद्ध नहुने प्राधिकरणले स्पष्ट पारेको छ । प्राधिकरणले उपभोक्तालाई सो अवधीमा विद्युत सम्बन्धी कुनै पनि कार्य नगर्न समेत अनुरोध गरेको छ ।