गोरखा १९ भदौ ः गोरखामा यस वर्षको निजामती सेवा दिवस २०८२ भव्यताका साथ मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखामा प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाको संयोजकत्वमा बुधबार बसेको तयारी बैठकले विभिन्न कार्यक्रम गरी सेवा दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले भदौ २१ गते बिहान ७ बजे नेपाल रेडक्रस सोसाइटी गोरखामा रक्तदान कार्यक्रम आयोजना गरिने छ भने सोही दिन बिहान ८ बजे गोरखा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरिनेछ ।
त्यसैगरी, भाद्र २२ गते बिहान ७ बजे ठूलो आगमनमा जम्मा भएर प्रभातफेरि निकाल्ने र समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रम गरिने बैठकले निर्णय गरेको छ । कार्यक्रममा जिल्लास्थित सबै कार्यालयका कर्मचारी, सुरक्षा निकाय, जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, पत्रकारलगायत अन्य सरोकारवालालाई समेत उपस्थितिका लागि अनुरोध गरिएको छ ।
बैठकले प्रभातफेरीमा सहभागी हुने सबै कर्मचारीहरूलाई अनिवार्य पोशाकमा उपस्थित गराउन कार्यालय प्रमुखहरूलाई आग्रह गरेको छ । बैठकमा गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला समन्वय समिति, गोरखा नगरपालिका, प्रदेश अस्पताल गोरखा लगायतका कार्यालयको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।