गोरखा, १६ भदौ । गोरखाको गण्डकी गाउँपालिकाले चेपाङ समुदायको महान चाड छोनाम न्वागी पर्बको अवसरमा भदौ २२ गते आईतबार सार्वजनिक विदा दिने घोषणा गरेको छ । गाउँ कार्यपालिकाको १४२ औँ बैठकले गरेको निर्णयअनुसार सो दिन गण्डकी गाउँपालिकाको मातहतमा रहेका वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयसहितका सबै सार्वजनिक निकायहरू बन्द रहने भएका छन् ।
गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवन चापागाईँद्वारा जारी सूचनामा छोनाम पर्वलाई सांस्कृतिक विविधता र सामुदायिक एकताको प्रतीकका रूपमा सम्मान गर्ने उद्देश्यले सार्वजनिक विदा दिने निर्णय गरिएको उल्लेख छ ।
छोनाम पर्व चेपाङ समुदायले हर्षोल्लासपूर्वक मनाउने विशेष चाड हो, जसलाई नयाँ वर्षका रूपमा पनि लिइन्छ । यस अवसरमा गण्डकी गाउँपालिकाले सम्पूर्ण कर्मचारी, विद्यालय, स्वास्थ्य संस्था र स्थानीयवासीलाई पर्वको शुभकामना व्यक्त गरेको छ ।