गोरखा, ७ भदौ । गोरखाका तीनवटा सरकारी कार्यालयले गोरखा सदरमुकाममा गरेको एक सार्वजनिकरण कार्यक्रममा सहभागीहरुले शुक्रबार गुनासै गुनासो गरेका छन् । राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले गरेको कार्यक्रममा सहभागी किसानहरुले अधिकांश लाभ वास्तविक किसानले नपाएर झोला बोक्नेहरुले पाएको गुनासो गरेका हुन् ।
किसानको लागि आएको अनुदानको कार्यक्रमबाट अनुदान पाउन झन्झटिलो हुनुका साथै सामाग्री समेत कमसल खालको भएको गोरखा नगरपालिका–९ टक्सारकी कल्पना काप्रीले दुखेसो पोख्नुभयो । उहाँले आफुले नियमले पाउने १० हजार लिन पनि भेटेरिनरी अस्पतालमा ३ पटक धाउदा पनि नपाएको बताउनुभयो । सिरानचोकका एक किसानले भेटेरिनरीबाट पशुहरुको लागि बितरण गरेका औषधी गुणस्तरहिन भएको, म्याद गुज्रन लागेको वितरण गर्ने गरिएको बताउनुभयो । उहाँले पनि नक्कली किसानले अनुदान पाउने गरेको गुनासो गर्नुभयो ।
पालुङटारका अर्का किसानले कार्यालयले मुखका भरमा प्रोत्साहित हुने गरेर काम लगाउने र अन्तिममा अनुदान गैह्र किसानले हातपार्ने भन्दै किसानको सुविधाभन्दा पनि कर्मचारीलाई फाइदा हुने गरी कार्यक्रम कार्यान्वयन हुने गरेको आरोप लगाउनुभयो । उहाँले सरकारी अनुदान समूह वा सहकारीभन्दा पनि काम गर्ने किसान लक्षित गरेर पारर्दशी हिसाबले बितरण हुनुपर्नेमा जोडदिनुभयो ।
राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख पूर्ण ढुङ्गानाको अध्यतामा भएको कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगर, विशिष्ठ अतिथिहरु समन्वयका उप–प्रमुख लिला परियार, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर थापा मगर, पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन, सिरानचोक गाउँपालिकाका प्रमुख ज्ञानेन्द्र गुरुङ, शहिद लखन गाउँपालिकाका प्रमुख रमेश थापा मगर र भिमसेन थापा गाउँपालिकाका कार्यबाहक अध्यक्ष अमृतदेवी वस्ती (भट्ट) समेतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख ढुङाना, कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश वस्ताकोटी र भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ कार्यालयका वरिष्ठ पशु चिकित्सक डा.अनन्त कोइरालाले आर्थिक बर्ष ०८२–०८३ को कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।