गोरखा, ६ भदौ । गोरखामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–६, चुम्चेतका ४१ वर्षीय छिसे दोर्जेको बिहिबार भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
यहीँ भदौँ २ गते साँझदेखि घरबाट बेपत्ता भएका सिप्चेतका अन्दाजी ४२ बर्षका रिनजिन लामाको खोजी गर्न पुगेको दोर्जेको लडेर ज्यान गएको उहाँले बताउनुभयो । लामाको शव भने गोरेटोबाटदेखि झण्डै २ सय मिटर तल भिरमा भेटिएको थियो ।
शव भएको ठाउँमा जाने क्रममा दोर्जे एक्कासी चिप्लिन पुगेका थिए । भिरबाट लडेर दोर्जेको घटनास्थलमै ज्यान प्रहरीको भनाई छ । रिनजिन लामा भदौ २ गते बेलुकी करिब ७ बजे विजुलीको बिल तिरेर घर फर्किने क्रममा बाटोमा हराएका थिए ।
उहाँको खोजी स्थानीयहरुले रातिदेखि नै सुरु गरेका थिए । बिहीबार बिहान चुम्चेतस्थित पातछुङछुमको गोरेटोबाट तल खोजी गर्ने क्रममा उहाँको शव भेटिएको थियो । छिसे दोर्जे पनि सोही खोजी टोलीका सदस्य थिए । रिनजिनको शव देखेपछि आफन्तलाई खबर गर्न जाँदै गर्दा उहाँ पनि चिप्लिएर करिब १५० मिटर तल खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल गोरखा सदरमुकामबाट दुई दिनको दुरीको रहेको छ ।