गोरखा, ३० साउन । उत्तरी गोरखाको ल्हो गाउँमा गएराती भिषण आगलागी भएको छ । आगलागीबाट ६ वटा घर जलेर नष्ट भएको स्थानिय छेवाङ ग्याल्जेन लामाले जानकारी दिएनुभयो।
चुमनब्री गाउँपालिका–२ मा पर्ने उक्त गाउँमा गएराती १०ः४५ बजे अचानक आगोदेखिएको लामाको भनाई छ । आगोले ५ जनाको ६ वटा घर जलेर नष्ट भएको छ ।
घर जल्ला अन्नपात, लत्ताकपडाका साथै नगद र गरगहना समेत जलेर नष्ट भएको वडाध्यक्ष मिग्यूर दोर्जे लामाले जानकारी दिनुभयो ।
यता गाउँमा आगलागीले ६ घर जलेको जानकारी बिहानमात्र पाएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताउनुभयो । ‘मैले पनि आजै बिहान जानकारी पाए’ उहाँले भन्नुभयो ‘पिडितलाई तत्कालै सहयोग उपलब्ध गराउन निर्देशन दिएको छु ।’
घर आगोले जलेर नष्ट भएपछी स्थानियहरुले उनीहरुलाई आश्रय दिएको पनि स्थानिय छेवाङ ग्याल्जेन लामाले बताउनुभयो । आगलागीबाट कुनै पनि मानविय क्षति भने भएको छैन ।
सन्डुक लामाको २ वटा घर र तेन्जेन लामा, ओर्केन लामा, टाँसी लामा र छेवाङ रिजुङ लामाको १–१ वटा घर जलेको हो ।
घटनापछी आज बिहान ३ बजे नामरुङ प्रहरी चौकीबाट प्रहरीहरु घटना स्थलमा पुगेको र मुचुल्का गर्नेकाम भई रहेको छ । आगलागीबाट १ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।