गोरखा, २३ साउन : गोरखाको गोरखा नगरपालिकाले यहीँ साउन २५ गते आइतबार नगरपालिका भित्रका सबै विद्यालयहरुमा विदा दिने भएको छ । गोरखा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आज सूचना जारी गर्दै नगरपालिका भित्र गाईजात्रा पर्वको अवसरमो एक दिनको विदा दिने निर्णय जनाएको हो ।
उक्त दिन गोरखा नगरपालिका अन्तर्गत रहेका सामुदायिक, संस्थागत, सहप्रवेश तथा धार्मिक विद्यालयहरू बन्द रहने छन् । नगर कार्यपालिकाको निर्णयअनुसार गाईजात्राको अवसरमा विदा दिने निर्णय भएको नगरप्रमुख कृष्णबहादुर रानामगरले बताउनुभयो । नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत खड्क बहादुर रानाद्धारा हस्ताक्षर गरी जारी गरिएको सूचनामा नगरभित्रका सबै विद्यालयलाई विदाबारे जानकारी गराएको छ ।
गाईजात्रा पर्व नेपाली परम्परा अनुसार विशेष महत्वको पर्व हो, जुन विशेषगरी गोरखा सदरमुकाममा नेवार समुदायले घुमधामका साथ मनाउने गर्दछन् । गाइजात्रा पर्वका दिन वर्षदिनको अवधीमा निधन भएका आफ्ना आफ्न्तको सम्झनामा गाइको स्वरुप धारण गरि टोलटोलमा परिक्रम गर्ने प्रचलन रहदै आएको छ ।
गोरखा सदरमुकाममा बिभिन्न टोलले गाइजात्रा पर्व मनाउने गर्दछन् । गोरखा नगरपालिकाले समुदायमा पर्व र संस्कृति प्रतिको सम्मानसहित विदा दिने निर्णय लिएर स्थानीय तहमा सांस्कृतिक महत्व बोकेको पर्वलाई संरक्षणमा सहयोग पुग्ने नगरप्रमुख रानामगरले बताउनुभयो ।