गोरखा,२२ साउन । गोरखाको गण्डकी गाउँपालिकाले दुहुना गाई र भैंसी पाल्ने किसानलाई प्रत्साहनस्वरूप अनुदान दिने निर्णय गरेको छ । गाउँपालिकाको १४१औं कार्यपालिका बैठकले दुहुना भैंसीपालक किसानलाई रु १०,००० र दुहुना गाईपालकलाई रु ५,००० अनुदान दिने निर्णय गरेको हो । गाउँपालिकाको १४१औं कार्यपालिका बैठकले उक्त कार्यबिधि समेत पास गरेको पालिका अध्यक्ष दीपक तिमिल्सिना ‘सकार’ले जानकारी दिनुभयो ।
स्थानीय किसानलाई पशुपालनतर्फ आकर्षित गर्न र दुधजन्य उत्पादनमा आत्मनिर्भरता बढाउन यो कार्यक्रम ल्याइएको पालिका उहाँले बताउनुभयो । गण्डकी गाउँपालिकाले यसअघि पनि तरकारी किसानलाई उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । पालिकाले उत्पादन र श्रमलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रलाई व्यावसायिक बनाउने योजना अघि समेत सारेको जनाएको छ ।
पालिकाले दुहुना गाई र भैंसी पाल्ने किसानलाई प्रत्साहनस्वरूप नगद अनुदान दिने निर्णयपछि पशुपालक किसानले खुशी व्यक्त गरेका छन् ।गाउँपालिकाले कृषि र पशुपालनलाई गाउँको मेरुदण्डको रूपमा लिएको गाउँपालिक अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।
किसान बिना गाउँको विकास अपूरो हुन्छ। यो अनुदान उत्पादनमुखी बनाउने यात्रातर्फ प्रयास हो,उहाँले भन्नुभयो,गाई–भैसीको दूध बेचेर आत्मनिर्भर हुने सपना देखिरहेका किसानलाई हामीले साथ दिनेछौं । कृषकको श्रमको सम्मान गर्दै गाउँपािलकाले त्यसलाई विकाससँग जोड्दै आएको छ ।