गोरखा, २१ साउन । गोरखाको मनकामनामा झन्डै १ अर्बको लगानीमा मनकामना रिट्रिट रिसोर्ट सञ्चालनमा आउने भएको छ । अगामी असोजको पहिलो हप्तादेखि सेवा सञ्चालन गर्ने गरी तीव्र गतिमा रिसोर्टको काम भइरहेको मनकामना रिट्रिट रिसोर्ट एन्ड स्पा प्रालिका अध्यक्ष विजय मल्लले जानकारी दिनुभयो ।
रिसोर्टको सबै व्यवस्थापनको जिम्मा सोल्टी वेस्ट्रन रिसोर्ट मनकामनाले गर्नेछ । सोल्टीको व्यवस्थापनमा यसअघि गोरखा, चितवन लगायत विभिन्न ठाउँमा रिसोर्ट र होटल सञ्चालनमा छन् ।
रिसोर्टको मूल संरचनाको काम सकेर भित्रको इन्टेरियर, साजसज्जाको काम भैरहेको अध्यक्ष मल्लको भनाई छ । उहाँका अनुसार रिसोर्टको इन्टेरियर डिजाइनको काम भारतीय कम्पनी आर्कोभले गरिरहेको छ । रिसोर्टमा ५१ वटा कोठामा ११० जना एक रातमा बस्न सक्नेछन् । ६ वटा भिल्ला रहनेछन् भने एक टावर विल्डिङ रहने छन् ।
उहाँले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरि रिसोर्टमा स्पा, फिटनेस क्लब, स्विमीङ पुल, इन्डोर ३ सय र आउटडोरसहित ५ सय जना क्षमताको बैंक्विट हल, रेस्टुरेन्ट लगायत सुविधा रिसोर्टमा रहनेछन् । रिसोर्टमा क्विन, किङ र प्रेसिडेन्सियल रुम हुने बताउनुभयो । यस्तै, ५६ जना क्षमताको रेष्टुरेण्ट पनि तयार पारिएको छ ।
४ वर्ष अगाडि रिसोर्टको निर्माण थाले पनि विभिन्न कारणले ढिलाइ भएको भन्दैं अध्यक्ष मल्लले अब भने सञ्चालनमा आउने बताउनुभयो । १ सय रोपनी क्षेत्रफल रहेको रिसोर्ट सञ्चालनमा आउँदा ६० देखि ६५ जनाले रोजगारी पाउनेछ्न । रिसोर्टमा स्थानीय उत्पादन र रोजगारीमा पनि स्थानीयलाई प्राथमिकता दिइने अध्यक्ष मल्लले बताउनुभयो ।
आफ्नो पैतृक जग्गा र जन्म ठाँउमा नै केही गरौं भन्ने उद्देश्य राखेर रिसोर्ट निर्माण गरेको उहाँको भनाई छ । मनकामना क्षेत्रमा आउने पर्यटकका लागि सबै सुविधा भएको रिसोर्टको अभाव महसुसपछि आफूले लगानी गरेको मल्ले बताउनुभयो ।
मनकामना आउने पर्यटकहरूलाई मनकामना क्षेत्रको स्थानीय उत्पादन खुवाउनेदेखि स्थानीय कला संस्कृतिहरू देखाउने उद्देश्यसमेत रहेकोले मौलिकतालाई उच्च प्राथमिकतामा राखिने अध्यक्ष मल्लले बताउनुभयो ।