काठमाडौं, १८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको तेस्रो दिनको बैठक सुरू भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गत शुक्रबारदेखि सुरू भएको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरूले धारणा राख्नेछ्न्। शनिबार १८ जना स्थायी समिति सदस्य, ५ पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेका थिए।
माओवादी केन्द्रभित्र पछिल्ला दिनहरूमा नेतृत्वको स्वरूप, संगठनको संरचना र पार्टीको भावी दिशा–निर्देशन बारेको बहस सतहमा आएको छ। अध्यक्ष ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको विचारगत अन्तरले नेतृत्व हस्तान्तरण, पार्टी पुनर्गठन र पुस्तान्तरणको बहसलाई थप चरम रूप दिएको छ। माओवादी केन्द्रको नेतृत्व लगभग साढे तीन दशकदेखि अध्यक्ष प्रचण्डले गरिरहेका छन्। यसबीच विभिन्न विभाजन र समायोजन भइसके पनि पार्टीको शिखर नेतृत्वमा परिवर्तन आएको छैन ।
पछिल्लो समय उपमहासचिव शर्माले पार्टीभित्र वैचारिक स्पष्टता, सांगठनिक पारदर्शिता र नेतृत्वको पुस्तान्तरण आवश्यक रहेको बताउँदै आएका छन्। माओवादी केन्द्रभित्र नयाँ र पुराना पुस्ताबीचको मतभेद बढ्दै गएको संकेत देखिन्छ ।
केही नेताहरूले लामो समयदेखि एकै नेतृत्वका कारण पार्टीको आकर्षण घट्दै गएको तर्क गरिरहेका छन्। पार्टीको लोकप्रियता विगत दुई दशकमा घटिरहेको जनमतले सँगसँगै देखाएको भन्दै पार्टीभित्र बहस चर्किएको हो ।