गोरखा, १४ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कारबाट गोरखाका पत्रकार सुशिलबाबु श्रेष्ठ कैलाश र कास्कीका फोटो पत्रकार राम गुरुङ सम्मानित हुने भएका छन् ।
पोखराका व्यवसायी बिमलमान गुभाजुसहित उहाँको परिवारद्वारा स्वर्गीय बुवाआमा वेदमान गुभाजू र नेत्रकुमारी गुभाजूको स्मृतिमा स्थापित यस पुरस्कार यो वर्ष पत्रकारद्वय श्रेष्ठ र गुरुङलाई प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले गरेको सिफारिस गरेको गुरुङ र श्रेष्ठको नाम फोनिज गण्डकीको मंगलबारको बैठकले अनुमोदन गरेको फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङले जानकारी दिनुभयो ।
अधिवक्ता सुरेन्द्र थापामगर संयोजक रहेको प्रतिभा छनोट समितिको सदस्यहरुमा फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङ, फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीषमगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर थिए । यो पुरस्कार फोनिजको २६ औं स्थापना दिवसका अवसरमा साउन २७ गते प्रदान गरिनेछ । उक्त पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित हुन लाग्नुभएका फोटो पत्रकार गुरुङले गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरीरहनुभएको छ । अहिले पोखरासिटी डटकममा कार्यरत गुरुङले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयर्टस् र सिन्हुवामा काम गरी सक्नुभएको छ । उहाँ नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष हुनुहुन्छ । उहाँले दरौदी पाक्षिक पत्रिकाबाट पत्रकारिताको सुरुआत गर्नुभएको थियो ।
सम्मानित हुन लाग्नु्भएका अर्का पत्रकार श्रेष्ठले लामो समयदेखि गोरखालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरीरहनु भएको छ । श्रेष्ठले गोरखा पत्र दैनिक, हिमालय टाइम्स, राजधानी दैनिक, नेपाल एफएम काठमाडौं, रेडियो पालुङ मकवानपुर, रेडियो मुक्तिनाथ पाल्पा, रेडियो गोरखा, एभिन्यूज टेलिभिजन, गोरखा समाचार दैनिक पत्रिकामा काम गरी सक्नुभएको छ । अहिले उहाँ गोरखा समाचार डटकममा आवद्घ हुनुहुन्छ ।
गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका दुई जना पत्रकारलाई फोनिज गण्डकीले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । वि।स २०७७ सालमा स्थापित यो पुरस्कारबाट यसभन्दा अगाडि रुद्रबहादुर हितानमगर, राजेशचन्द्र राजभण्डारी, शान्ति गुरुङ, केबी रानामगर, उदयबहादुर अमात्य, आश गुरुङ, हुमबहादुर गुरुङ, सुन्दरकुमार थकाली, दिपेन्द्र श्रेष्ठ र कमला रानामगर सम्मानित भइसकेका छन् ।
साथै, स्थापना दिवसका अवसरमा फोनिज गण्डकीले तीन दिवसीय कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । जसअनुसार साउन २५ गते फोनिज संवाद, २६ गते पत्रकारहरुबीच मैत्रीपूर्ण खेलकुद र २७ मूल समारोह आयोजना गरिने अध्यक्ष गुरुङले बताउनुभयभो ।