Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

रसुवागढी क्षतिको साढे ८४ करोड बिमा दाबी


1.7K
Shares

रसुवागढी क्षतिको साढे ८४ करोड बिमा दाबी

काठमाडौं,१३ साउन । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा गत असार २३ गते आएको बाढीले ठूलो मात्रामा धनजनको क्षति गरेको थियो । चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशी खोलामा आएको बाढीले क्षति पुर्‍याएपछि बिमा कम्पनीहरूमा ८४ करोड ३८ लाख १० हजार रुपैयाँबराबरको बिमा दाबी परेको छ  ।

नेपाल बिमा प्राधिकरणमा साउन ८ गतेसम्म प्राप्त तथ्यांकअनुसार कुल ६८ वटा दाबीबाट सो रकम बराबर क्षति भएको अनुमान गरिएको छ । तर, यो उक्त स्थानको बाढीपहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबीको विवरण भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकनुसार ११ वटा बिमा कम्पनीमा दाबी परेको छ । दाबीको विवरण अनुसार नीर्जिवन बिमा कम्पनीहरूमध्ये हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडमा सबैभन्दा बढी दाबी रकम परेको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्समा मात्रै २ वटा दाबीबाट ५५ करोड रुपैयाँ परेको छ । यसैगरी, शिखर इन्स्योरेन्स कम्पनीमा १२ वटा दाबीबाट १६ करोड ८५ लाख १० हजार रुपैयाँको, नेको इन्स्योरेन्समा ३ वटा दाबीबाट ५ करोड १२ लाख रुपैयाँ परेको छ ।

यसबाहेक, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ दाबीबाट २ करोड ६५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीबाट १२ दाबीबाट १ करोड २८ लाख ५० हजार रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सबाट ३ दाबीबाट ९१ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा ९ वटा दाबीबाट ७५ लाख ५० हजार रुपैयाँबराबरको परेको छ ।

यसैगरी, सानीमा जीआईसी इन्स्योरेन्समा ६ वटा दाबीबाट ७५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडः ६ दाबीबाट ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ दाबीबाट ३१ लख रुपैयाँ र प्रभु इन्स्योरेन्समा ६ वटा दाबीबाट २८ लाख रुपैयाँबराबरको परेको छ ।

सम्पत्ति बिमामा सबैभन्दा बढी दाबी
बिमा लेखको प्रकारअनुसार दाबीको विवरणमा सम्पत्ति बिमामा सबैभन्दा बढी दाबी रकम देखिएको छ । यसअनुरूप सम्पत्ति बिमामा मात्रै ६ वटा ५८ करोड १ लाख रुपैयाँ बिमा दाबी परेको छ । यस्तै, सामुद्रिक बिमामा ७ वटा दाबीबाट १६ करोड २३ लाख १० हजार रुपैयँको परेको छ ।

यता इन्जिनियरिङ तथा ठेकेदार जोखिममा ३ वटा दाबीबाट पर्दा ५ करोड ४० लाख रुपैयाँ दाबी भुक्तानी गर्नुपर्ने भएको छ । यसँगै, सार्वजनिकतर्फको मोटर बिमामा ३८ वटा दाबी परेको छ । जसका लागि कम्पनीले २ करोड ५९ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी गर्नुपर्ने देखिन्छ । यता निजी मोटर बिमा शीर्षकमा पनि १४ वटा दाबी परेको छ । जसअनुसार २ करोड १४ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology