सिन्धुली, १२ साउन । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा बसोबास गर्ने एकै परिवारका १६ जना बेपत्ता भएका छन् । उनीहरुलाई प्रहरीले खोजी कार्य सुरु गरेका छन् ।
लोपोन्मुख हायु जातिका एकै परिवारका १६ सदस्य बेपत्ता भएपछि अहिले स्थानीय बासिन्दा, गाउँपालिका तथा वडा र प्रहरीले खोजी सुरु गरेका हुन् ।
बेपत्ता उर्मिला हायु परिवारको घर एकान्तमा भएकाले कहिलेदेखी बेपत्ता भएको हो पूर्ण विवरण प्राप्त हुन नसकेको सिन्धुली प्रहरीले जनाएको छ ।
गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले पनि ढिलो गरी सूचना प्राप्त भएको यसै भन्न नसकिने बताए । उनले प्रहरी र स्थानियको सहयोग लिएर वडा तथा नगरपालिकाले समेत खोजी सुरु गरेको बताउनुभयो ।
खबर पाए लगत्तै पुगेको गाउँपालिकाको टोली र प्रहरीले हायुको घरमा अलपत्र अवस्थामा केही पशुपंक्षी फेला पारेको र घरमा सामान्य क्षति समेत देखेको पालिका अध्यक्ष बरालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार हायुका परिवार शुक्रबार वा शनिबारबाटै घर छाडेर सम्पर्कबिहिन भएको जस्तो देखिएको अनुमान गरिएको छ । घर एकलासमा भएकाले स्थानीयले पनि ढिलो गरी थाहा पाएका थिए । उनीहरुको परिवारै बेपत्ता भएको प्रहरीले आज बिहान मात्र थाहा पाएका थिए ।