Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखाका किसानलाई एक लाख अलैचीका बेर्ना निःशुल्क वितरण


2.3K
Shares

गोरखाका किसानलाई एक लाख अलैचीका बेर्ना निःशुल्क वितरण

गोरखा, ८ साउन । गोरखाका किसानलाई एक लाख भन्दाबढी अलैचीका बेर्ना निःशुल्क वितरण गरिएको छ । स्वाँरासघन गाउँविकास केन्द्र र सिआइएसंगको साझेदारीमा यहाँका विभिन्न ४ वटा गाउँपालिकाका किसानलाई अलैचीको बेर्ना वितरण गरिएको स्वाँरासघन गाउँविकास केन्द्रका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले जानकारी दिनुभयो ।

‘‘अलैचीको बजार मूल्य उच्च भएको र किसानलाई नगदेबालीमा प्रोत्साहन गर्नका लागि ‘स्पाइस परियोजना’ अन्तर्गत निःशुल्क रुपमा अलैचीका बेर्ना उपलब्ध गराइएको हो ।’’ उहाँले भन्नुभयो । अलैचीको राम्रो उत्पादन हुने जिल्लाको धार्चे गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र आरुघाट गाउँपालिकामा परियोजना सञ्चालन गरिएको हो ।

खेर गइरहेको जमिनमा अलैची खेती गर्नसके किसानहरुको आयआर्जन बृद्धिमा थप टेवा पुग्ने भएकाले परियोजनाले अलैची खेतीमा जोड दिइएको उहाँको भनाई छ । वेर्ना वितरणसंगै बेर्ना सार्ने बिधि, विरुवामा लाग्ने रोग किराको निदानको बारेमा समेत किसानलाई परियोजनाले अभिमुखीकरण प्रदान गरेको छ ।

‘‘त्यस्तै अलैची उत्पादनपछि सुरक्षित भण्डारण बिक्रीको गर्ने जिम्मेवारी पनि स्वाँरासघनको हुनेछ । त्यसका लागि पालिकाहरुसंग आवश्यक समन्वय गरेर काम गरिहेका छौँ ।’’ निर्देशक श्रेष्ठले भन्नुभयो ।

चिसो हावापानी भएको र अन्यखेती नहुने जमिनमा पनि अलैची खेती हुने हुँदा खेर गएको बाँझो जमिनप्रयोग गरे मनग्य आम्दानी गर्न सकिने उहाँको भनाई छ । कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका किसानहरुको जीविकोपार्जनमा टेवा पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology