गोरखा, ७ साउन । गोरखा नगरपालिका–८, लक्ष्मीबजारस्थित जमुने पाखा बर्षौदेखि बाँझो थियो । पाखाबारीमा उम्रिएका बुट्यानले बारी गराहरु सवै छोपिएका थिए । बारी जंगलजस्तै बनेको थियो । अहिले त्यहीँ खेर गइरहेको बाँझो बारीमा व्यावसायिक कालो बेसार खेती गरिएपछि जुमने पाखाको मुहार नै फेरिएको छ ।
राजनीति क्षेत्रमा क्रियाशिल गोरखा नगरपालिका ३ नारेश्वरका यादव वस्नेत र भिमसेन थापा गाउँपालिका–७ बोर्लाङका कविता अर्यालले कृषि पेशालाई व्यवसायिक बनाउन वि एण्ड बि कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर सुरु गर्नुभएको जमुने पाखाको कालो बेसार खेती हेर्न अहिले मानिसहरु दिनहुँ त्यहाँ पुग्ने गर्छन् ।
करिब रु ४० लाखको लागतमा झण्डै २९ रोपनी क्षेत्रफलमा जमुनो पाखामा कालो बेसार खेती गरिएको सञ्चालक बस्नेतले बताउनुभयो । ‘‘जमिन भाडामा लिएर खेती सुरु गरिएको हो । सुरुमा ठाउँको छनौट गरेर माटो परीक्षण ग¥यौँ । माटो उपयुक्त रहेको रिर्पोट आएपछि जग्गाधनीसंग सम्झौता गरेर खेती गर्न थालिएको हो ।’’ उहाँले भन्नुभयो ।
काठमाडौँस्थित गोपाल एग्रो प्रालिबाट करिब ७ सय किलो बीउ खरिद गरेर ल्याई खेती गरिएको बस्नेतको भनाई छ । खेती गर्दा आवश्यक प्राविधिक सहयोग पनि बीउ उपलब्ध गराउने कम्पनीले गर्दै आएको छ । उत्पादन खरिद गरिदिने सम्झौता पनि प्रा.लिले गरेको उहाँले बताउनुभयो ।
किसान महासंघमा जोडिएर काम गर्दा व्यवसायिक कृषि खेतीतर्फ आफ्नो आर्कषण बढेको उहाँ बताउनुहुन्छ । अहिले अमेरिका, क्यानडा, अष्ट्रेलिया, भारत, चीनलगायतका देशमा कालो बेसारको उच्च माग छ ।
उत्पादनलाई पूर्ण रुपमा अर्गानिक बनाउन जैविक मलको मात्र प्रयोग गरिएको छ । ‘‘बीजामृत (गाईको ताजा गोवर, गहुँत, चुन र माटो मिश्रण गरि बनाइएको झोल पदार्थ) बनाएर बीउलाई सुरुमै त्यसमा चोपलेर छायाँमा सुकाएर मात्र रोपिएको हो ।’’ उहाँले भन्नुभयो ।
गएको बैशाखमा सुरु गरिएको बेसार खेतीले आउदो बैशाखमा उत्पादन दिने अर्र्का सञ्चालक कविता अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अदुवाको गोलमेललगायतका काम गर्न स्थानीयलाई प्राथामिकता दिने गरिएको छ । ड्याङ खन्ने, ड्याङ बनाउने, रोप्ने काममा मात्र यहाँका महिलाहरुलाई रु ६ लाख बराबरको रोजागारी दिइसकेका छौँ ।’’
कालो बेसार आयुवेर्दिक तथा एल्लोपेथिक सवै प्रकारका औषधी उत्पादनमा प्रयोग हुने भएकाले बजारमा अत्याधिक माग हुने गरेको छ । कालो बेसार गुणस्तरका आधारमा अहिले बजारमा प्रतिकेजी रु १ हजारदेखि ५ हजारसम्ममा बिक्री हुने गरेको बताइन्छ । ‘‘उत्पादन गर्न सके बिक्रीको कुनै समस्या छैन, उहाँले भन्नुभयो, ‘‘हामीले यो बर्ष न्युनतम ८ देखि १० हजार किलो उत्पादन गर्ने लक्ष्य राखेका छौँ ।’’