गोरखा, ५ साउन । उत्तरी गोरखाको मनास्लु पदमार्गमा निस्कने फोहोर संकलन र व्यस्थापनका लागि बिभिन्न ४० स्थानमा डस्टबिन राखिएको छ । स्थानीयबासीको सहभागितामा फोहोर व्यवस्थापनका लागि पदमार्गमा डस्टबिन राखिएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।
पदमार्गलाई सफा, सुन्दर र सुरक्षित राख्न ठाउँठाउँमा डस्टबिन राखिएको हो । फोहोर व्यवस्थापनबाट वातावरण संरक्षणमा समेत सहयोग पुग्ने उहाँको भनाई छ । प्रमुख शेरचनले भन्नुभयो, ‘‘त्यहाँ घुम्न पर्यटकले जथभावी फोहोर फ्याक्ने गर्दा मनास्लु लार्केपास पदमार्गमा जथाभावी फोहोर देखिने गरेको छ । त्यसलाई व्यवस्थित र प्रभावकारी व्यवस्थापनका लागि ठाउँठाउँमा डस्टबिनहरू राखिएको छ ।’’
मनास्लु पदमार्गमा पानीको बोतल, बिस्कुट चाउचाउका खोललगायतका फोहोर यत्रतत्र देखिने गरेका थिए । ‘‘अब फोहोरको उचित व्यवस्थापनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ, प्रमुख शेरचनले भन्नुभयो, ‘‘स्थानीयवासी सवै मिलेर पदमार्गमा पुगेका पर्यटकलाई बाटोमा फोहोर फाल्न नदिने र डस्टबिनमा फाल्ने बानीलाई प्रोत्साहन गर्नसके फोहोर व्यवस्थापनमा निक्कै सहज हुनेछ ।’’
उहाँका अनुसार डस्टबिनहरू राख्नुअघि आयोजना कार्यालयले स्थानीय सरोकारवाला, आमा समुहलगायत संग कार्यक्रमको प्रभावकारितालगायतको बिषयमा छलफलसमेत गरेको थियो
स्थानीयबासी लक्ष्मी गुरुङले पदमार्गमा राखिएका डस्टबिनले पदयात्रामा आउने पर्यटकलाई पनि राम्रो सन्देश दिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पदमार्ग वरपर फोहोरको समस्या बढ्दै गएको थियो । अहिले डस्टबिन राखिएपछि जथाभावी फोहोर फाल्नु हुँदैन भन्ने परेको छ ।’’
कार्यालयले स्थानीयवासीलाई फोहोर व्यवस्थापन, पुनः प्रयोग र रिसाइकलको विषयमा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको छ । मनास्लु पदमार्गमा एक बर्षमा १२ हजार भन्दाबढी विदेशी पर्यटक घुम्न पुग्ने गर्दछन् ।