गोरखा ५ साउन । मनसुन अवधीभर गोरखाका १४ वटा ग्रामिण सडकखण्डमा सोमबार (भोली) देखि रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मनसुनबेला बाढी र पहिरोको उच्च जोखिममा रहेका सडकखण्डहरुमा मनसुन अवधीभरसम्मका लागि रातको समयमा यातायात सञ्चालन रोक लगाउने निर्णय गरिएको गोरखाका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिनुभयो ।
जिल्ला प्रसासन कार्यालय गोरखामा दिउँसो बसेको सरोकारवालाहरु बीचको समन्वयात्मक बैठकले मनसुनका बेला हुनसक्ने विप्द जोखिमलाई मध्यनजर गर्दै भौगोलिक अवस्था हेरेर तोकिएका १४ वटावाहेक जिल्ला भित्रका अन्यसवै अस्थायी रुटमा मनसुन अवधीभर पूर्ण रुपमा यातायात सञ्चालन बन्द गर्ने निर्णयसमेत गरिएको उहाँले बताउनुभयो । जिल्ला भित्र अहिले ४३ वटा अस्थायी रुटमा सार्वजनिक सवारी साधान सञ्चालन हुँदै आएका छन् ।
निमित्त प्रजिअ बरालका अनुसार गोरखा–आरुघाट सडकखण्ड अन्तरगतपर्ने माछीखोला–सोती सडकखण्ड, बारपाक सुलिकोट गाउँपालिकामा पर्ने हुडीखोला–सौरपानी–पाल्खु सडकखण्ड,जराङ–देउराली सडकखण्ड, आरुघाट गाउँपालिकास्थित आप्रिक–आरुघाट सडकखण्डमा राती यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।
त्यस्तै आरुघाट गाउँपालिकामा पर्ने थुमी–आर्खेत सडकखण्ड, गोरखा–मान्वु सडकखण्ड, सिरानचोक गाउँपालिकास्थित केराबारी–थालाजुङ–भिरसिंङ सडकखण्ड, गोहोरे–आहाभन्ज्याङ–खहरे सडकखण्ड, लाप्राक र बारपाक जोड्ने बारपाक–लाप्राक–गुम्दा सडकखण्डमा पनि मनसुन अवधीभर राती सवारी साधन सञ्चालन गर्न पाइने छैन् ।
गण्डकी गाउँपालिकाको बुटार–राइनास–ताक्लुङ सडकखण्ड, अजिरकोट गाउँपालिकास्थित लप्सीवोट भच्चेक सडकखण्ड र भीसमेन थापा गाउँपालिका र शहीद लखन गाउँपालिका जोड्ने महादेवटार–मैलुङ–बुङकोट सडकखण्डमा पनि रातको समयमा सवारी सञ्चालनमा सञ्चालन गर्न नपाइने निर्णय गरिएको उहाँले बताउनुभयो ।
वर्षायाममा बढ्दो आउनसक्ने बाढी र पहिरोको जोखिमका कारण तोकिएका ग्रामिण सडकखण्डमा मनसुन अवधीभर यातायात सञ्चालनमा रोक लगाइएको निमित्त प्रजिअ बरालको भनाई छ ।.