एजेन्सी, २ साउन । पाकिस्तान भीषण वर्षापछि चौबीस घन्टामै ६३ जनाको मृत्यु भएको छ । पञ्जाब प्रान्तमा बुधबार बिहानदेखि परेको मुसलधारे वर्षापछि भएको बिपत्तीमा परी बिहीबारसम्म ६३ जनाको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले अधिकांश मानिसहरू घर भत्किँदा थिचिएर मारिएका छन् । केही मानिसहरूको डुबेर र करेन्ट लागेर पनि मृत्यु भएको बताइएको छ । विपदका घटनामा परी २९० जना घाइते भएको बिबिसीले जनाएको छ ।
राजधानी इस्लामावाद नजिकैको सहर रावलपिण्डीमा मानिसहरू सुरक्षित रहून् भनेर बिहीबार सार्वजनिक बिदा समेत दिइएको थियो । सहरभित्रको नदी खतरा तहमा पुगेपछि किनाराका बासिन्दालाई दिउँसै सुरक्षित स्थानमा सारिएको थियो ।
पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजले प्रान्तभरि आपतकाल घोषणा गरेकी छन् । पाकिस्तानभर मनसुन सुरु भएको जुन अन्त्यदेखि अहिलेसम्म झण्डै १८० जनाको मृत्यु भइसकेको छ, जसमा अधिकांश बालबालिका छन् । पञ्जाबका विभिन्न क्षेत्रमा बाढीले एक्सप्रेस(वे बन्द गराएका छन्,भने दर्जनौं उडानहरू रद्द वा ढिला भएका छन् ।
चकवाल सहरमा २४ घण्टामै ४०० मिमि वर्षा भएपछि स्थिति गम्भीर भएको छ । उद्धारकर्ताहरू डुंगा र हेलिकप्टरमार्फत बाढीमा फसेका मानिसहरूको खोजी गर्दैछन् ।
करिब २५ करोड जनसंख्या भएको पाकिस्तान जलवायु परिवर्तनबाट विश्वमै सबैभन्दा धेरै प्रभावित हुने देशहरूमध्ये पर्दछ । सन् २०२२ मा आएको बाढीले देशको एक तिहाइ भूभाग डुबाएको थियो । त्यतिबेला १ हजार ७०० जनाको मृत्यु भएको थियो भने३० अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको रिपोर्ट छ ।