गोरखा २३ असार । गोरखामा पर्यटकलाई आकर्षित गर्न आदीबासी जनजातिको परम्परागत भेषभूषा प्रर्दशनी तथा सेवा कक्षा सञ्चालनमा ल्याइएको छ । गोरखा नगरपालिकाले गोरखा भ्रमण वर्ष २०२५ को अवसर पारेर ऐतिहासिक गोरखा दरबार परिषरमा भेषभूषा प्रदर्शनी तथा सेवा कक्ष स्थापना गरेको हो ।
प्रर्दशनी कक्षमा बिभिन्न १२ वटा आदीबासी जनजाति समुदायका महिला तथा पुरुषले लगाउने परम्परागत जातिय भेषभूषा, पहिरन, गरगहना तथा दैनिक जीवनमा प्रयोगहुने सामाग्रीहरु राखिएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।
‘‘गोरखाको सांस्कृतिक परम्परा, जनजातीय पहिचानलाई जोडेर पर्यटन प्रवद्र्धनलाई बढाउने उद्देश्यसहित यो पहल गरिएको हो, उहाँले भन्नुभयो, ‘‘गोरखा दरबार नजिकैको ऐतिहासिक ठूलो आँगन क्षेत्रभित्र स्थापना गरिएको यस प्रर्दशनी कक्षबाट यहाँको ऐतिहासिकता र सांस्कृतिक चिनारीलाई एकै साथ बुझ्न पाइनेछ ।’’
नेपाल आदिवासी जनजाति महासंघ गोरखा संगको समन्वयमा प्रर्दशनी कक्ष सञ्चालनमा ल्याइएको हो । “यहाँ बसोबास गर्ने जनजातिको सांस्कृतिक पहिचान र जीवनशैली पनि उत्तिकै समृद्ध छ, नगरप्रमुख रानामगरले भन्नुभयो, “त्यसलाई संरक्षण र प्रवद्र्धन गर्दै गोरखालाई अझ बहुआयामिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न यसको स्थापनाले महत्वपूर्ण भूमिका खेलेको छ ।’’
आदीबासी जनजाति भेषभूषा प्रर्दशनी कक्ष तथा सेवा केन्द्रमा पुगेर पर्यटकहरुले बिभिन्न आदीबासी जनजाति समुदायका परम्परागत पोशाकमा सजिएर तस्विर खिच्न पाउने व्यवस्था गरिएको नेपाल आदीबासी जनजाति महासंघ गोरखाका अध्यक्ष बिष्णु रानामगरको भनाई छ ।
“प्रर्दशनी कक्षको अवलोकन गर्दा पर्यटकहरुले अवदेखि जनजाति समुदायको पहिरनमा सजिएर तस्बिर खिच्न र तिनको जीवनशैली, पहिचानबारे बुझ्ने अवसर प्राप्त गर्नेछन्, उहाँले भन्नुभयो, “पर्यटकले यहाँको संस्कृति अनुभव गर्न सक्छन् भन्ने सोचले हामीले यो प्रदर्शनी कक्ष सुरु गरिएको हो ।”
प्रदर्शनी कक्षले जनजातिको पहिचान मात्र नभई उनीहरुको मौलिक परम्परा र संस्कृति जर्गेना गर्ने सशक्त माध्यम बन्ने बताउनुभयो । “पर्यटकले हेर्ने, प्रयोग गर्न सक्ने गरि प्रर्दशनी कक्षमा आदीबासी जनजातिका परम्परागत पोशाकहरु प्रदर्शन राखिएको छ, उहाँले भन्नुभयो, “पर्यटकले यहाँको संस्कृति केवल अवलोकनका लागि नभई अनुभूति गर्न सकिने गरि प्रस्तुत गरिएको छ।”
तत्कालका लागि १० बजेदेखि साँझ ५ बजेसम्म प्रर्दशनी कक्ष अवलोकन गर्नसक्ने व्यवस्था मिलाइएको भएपनि विस्तारै विहानदेखि साँझसम्म कक्ष सञ्चालनमा ल्याउने योजना बनाइएको अध्यक्ष रानामगरको भनाई छ ।
भेषभूषा प्रदर्शनी कक्षमा गुरुङ, मगर, तामाङ, नेवार, चेपाङ्ग, राई, लिम्बु, थकाली, दराई, कुमाल, सन्यासी र धिमाल जातजातिको भेषभूषा प्रदर्शनमा राखिएको छ ।
त्यस्तै जनजातिका महिला तथा पुरुषद्वारा परम्परागत रुपमा प्रयोग गरिने कपडा, गहना, घरेलु भाँडाकुँडा, बनोट र विशेष पर्वमा लगाइने सांस्कृतिक पोशाकहरू समावेश छन् ।
प्रर्दशनी कक्षमा जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक परिवेशबारे पनि झल्को दिने उहाँले बताउनुभयो ।