गोरखा, ३१ जेठ ः निर्माण व्यवसायी संघ गोरखाको ११ औँ अधिवेशनबाट अध्यक्षमा सूर्यबहादुर भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । शनिबार राती सम्पन्न भएको मतगणनामा भण्डारीले प्रतिस्पर्धी राजु लामिछानेलाई १३ मतले हराउदै अध्यक्षमा विजयी हुनुभएको निर्वाचन समितिका सदस्य रेशम बि.कले जानकारी दिनुभयो ।
कुल खसेको २ सय ३३ मतमध्ये नवनिर्वाचित अध्यक्ष भण्डारीले ११५ मत प्राप्त गनुभयो । त्यस्तै अध्यक्षका अर्का प्रत्यासी लामिछानेले १०२ मत प्राप्त गर्नुभएको उहाँले बताउनुभयो । अधिवेशनबाट कार्यसमितिको सदस्यमा भोला मरहट्टा, किरण श्रेष्ठ, दिनेश तमु, देवराज गुरुङ, सुवास तमाङ, किरण श्रेष्ठ, पर्वतराज खड्का, सविनराज बस्नेत, उमेश अर्याल, सोवित श्रेष्ठ, सुरेन्द्र बस्नेत र ताराबहादुर खड्का निर्वाचित भएको उहाँको भनाई छ ।
नवनिर्वाचित समितिको पहिलो बैठकले समितिको पदाधिकारीसहितको जिम्मेवारी ठोस गर्ने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । अध्यक्ष भण्डारी नेकपा माओवादी केन्द्र निकट निर्माण व्यवसायी हुन् भने पराजित लामिछाने नेपाली काग्रेस निकट निर्माण व्यवसायी हुन् ।