गोरखा, २५ जेठ । म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा गोरखाका फोटो पत्रकार प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित हुनुभएको छ । फोटो पत्रकारिताका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका वन्त राष्ट्रिय समाचार समिति (रासस)मा आबद्ध छन् ।
हाल उहाँ फोटो पत्रकारहरूको संस्था एनएपीजेका अध्यक्षसमेत हुनुहुन्छ । कार्यक्रममा विशिष्ट गीतकार यादव खरेललाई म्युजिक खबर दीर्घ साधना सम्मान–२०८१ ले सम्मान गरिएको थियो ।
सयौँ गीत लेखेका गीतकार खरेलका गैरी खेतको शीरै हान्यो, चैतमास खडेरीमा डढेलोले वनै खायो, यस्तो पनि हुँदो रैछ, नौ सय खोला तरेर जाने, उडुँ कि गुडुँ मलगायतका गीतहरू कालजयी छन् ।
उहाँले चलचित्र नासो, प्रेमपिण्ड, श्रीस्वस्थानी, नासो, लोभीपापी, आदिकवि भानुभक्तलगायतको निर्माण तथा निर्देशन गर्नुभएको छ । गीतकार खरेललाई नगद ५१ हजार सहित दीर्घ साधना सम्मानले सम्मान गरिएको कार्यक्रम संयोजक सविता पोखरेलले बताउनुभयो ।