Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नयाँ कोरोना भाइरस कति खतरनाक छ ?


1.7K
Shares

नयाँ कोरोना भाइरस कति खतरनाक छ ?

काठमाडौँ,१८ जेठ । सन् २०१९ मा विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस पुनः छिमेकी देश भारत लगायतका एसियाली मुलुकमा तीव्र गतिमा फैलिरहेको छ ।

कोरोना भाइरसको सङ्क्रमणले सन् २०१९ मा जनधनको साथै विश्वभरको अर्थतन्त्रलाई तहसनहस बनाएको थियो । भारत लगायतका देशमा तीव्र गतिमा फैलिएको भाइरस हालसम्म नेपालमा भने पुष्टि नभए पनि कोरोनाले पुनः भयावहको अवस्था त आउने होइन भनेर धेरैमा मनमा त्रास छ ।

भारतमा कोरोना सङ्क्रमणले धेरैलाई अस्पतालमा पुर्‍याउनुका साथै केही मृत्यु भएको घटना सार्वजनिक भएकोले धेरैले त्रासित भएका छन् ।

यो भाइरस नेपालमा हालसम्म पुष्टि नभए पनि ढिलो चाडो नेपालमा पनि देखिने विज्ञको भनाइ छ ।

नयाँ कोरोना कति खतनाक छ ?

हाल भारतमा ओमिक्रोनको नयाँ पुस्ता एनबी.१.८.१ भाइरस तीव्र रूपमा फैलिएको सरुवा रोग विशेष डा.शेरबहादुर पुन बताउनुहुन्छ । डा।पुनका अनुसार यो भेरिएन्ट ओमिक्रोन जस्तै अति सङ्क्रमक भए पनि कम घातक छ ।

उहाँ भन्नुहुन्छ,“अहिले भारत लगायतका देशमा देखिएको भाइरस ओमिक्रोनको नयाँ पुस्ता हो । यो भाइरस कस्तो छ भने पुष्टि नभए पनि विश्व स्वास्थ्य सङ्गठनले भाइरस अति सङ्क्रामक भए पनि कम घातक भएको उल्लेख गरेको छ ।”

यो भाइरस कम घातक भएकाले जोखिम समूहलाई अस्पतालसम्म पुर्‍याए पनि आइसियूमा भर्नाहुने दर निकै न्युन रहेको डा।पुनको भनाइ छ । उहाँ भन्नुहुन्छ,“भारतमा धेरै जनसङ्ख्या छन् । धेरैले जनस्वास्थ्यका मापदण्ड अपनाएको देखिँदैन त्यसैले पनि धेरै सङ्क्रमित पुष्टि भएको हुनसक्छ ।तर, आइसियूमा भर्ना दर भने निकै न्युन छ ।”

नेपालमा यो भाइरस फैलने सम्भावना कति छ र ?

भारतमा कुनै पनि सङ्क्रमण फैलिएपछि ढिलो चाँडो नेपालमा फैलिएको बिगतको अनुभवले देखाएको हुँदा यो भाइरस पनि ढिलो चाँडो पुष्टि हुने हुँदा सचेत रहन डा।पुनको आग्रह छ । उहाँ भन्नुुहुन्छ,“भारतमा कोरोना सङ्क्रमण फैलिएपछि, नेपालमा पनि ढिलो चाँडो फैलिएको विगतको अनुभव देखाएकोले सबै सचेत रहनुहोला । सरकारले यो भाइरस नेपाल भित्रन नदिन गृहकार्य गरेकै होला ।”

नयाँ कोरोनाको लक्षण ?

चिकित्सकका अनुसार कोरोना भाइरस श्वाप्रश्वासको माध्यमबाट सर्ने सरुवा रोग हो । कोरोना भाइरसको सङ्क्रमण हुँदा सामान्य फ्लुका जस्तै लक्षण देखिएको डा।पुन बताउनुहुन्छ ।

उहाँका अनुसार रुघा, खोकी लाग्ने, घाँटी दुख्ने, आलश्य हुने, मांशपेशी दुख्ने, जिउ दुख्ने, नाक बन्द हुने, झाडापखाला लाग्ने, ज्वरो आउने, जिउ दुख्ने यो भाइरसका प्रमुख लक्षण हुन् ।

उहाँ भन्नुहुन्छ,“यो भाइरसका सामान्य लक्षण देखिन्छन् ।तर, लक्षण सामान्य भनेर हेलचक्राइ भने गर्नु हुँदैन् । जोखिम समूहले हेलचेक्राइ गरेमा बिरामीको मृत्यु समेत हुन सक्छ ।”

उहाँ भन्नुहुन्छ,“हाछ्यु गर्दा, सिङ्गान, थुकको छिटा, खकारको माध्येमबाट यो भाइरस एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ ।”

जोखिम समूह  ?

कोरोना भाइरसबाट ज्येष्ठ नागरिक, दीर्घ रोगी, बालबलिका, गर्भवती, रोग प्रतिरोधात्मक क्षमता भएका मानिस जोखिम रहेको चिकित्सक बताउछन् । यस्ता मानिसहरू कोरोनाको सामान्य लक्षण देखिए पनि अस्पतालसम्म पुर्‍याउने जोखिम बढी हुने हुँदा सचेत रहन डा। पुनको आग्रह छ । उहाँले जोखिम समूहलाई रोगको जोखिम कम गर्न कोरोना विरुद्धको खोप लगाउन डा।पुनको सुझाव छ ।

धेरै मानिस खोप लगाउने कि नलगाउने भनेर अन्योलमा रहेकोले सरकारले कस्तो अवस्थामा कोरोना विरुद्धको खोप लगाउने भनेर निर्देशिका बनाइदिएमा सहज हुने डा। पुनको भनाइ छ । डा।पुनका अनुसार शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालबाट सरकारले कोरोना विरुद्धको खोप दिँदै आएको छ ।

भाइरसबाट बच्न के गर्ने ?

कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउन डा।पुनको आग्रह छ । भिडभाडमा नजाने जानै परेमा मास्क लगाउन, बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुन, जथाभावी फोहोर ठाउँमा छोएर नाक मुखमा हात नलैजान उहाँको आग्रह छ । युवा र सक्रिय सदस्यमार्फत घरका जोखिम सदस्यसम्म भाइरस फैलने हुँदा जोखिम समूहलाई यो रोग लाग्नबाट बचाउन घरमा कसैले रुघाखोकी लगायतका लक्षण देखिएमा छुट्टै बस्न आग्रह गर्नुभयो ।

कोरोना भित्रना नदिन के गर्दै छ सरकार ?

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।चन्द्र भाल झाले कोरोना भित्रन नदिन सीमा नाका, हवाई नाकामा हेल्थ डेस्क राखिसकेको जानकारी दिनुभयो ।

उहाँले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताउनुभयो । आवश्यक परीक्षण सबै प्रदेशमा पठाइसकेको जानकारी दिनुभयो । भारतमा अहिलेसम्म पछिल्लो सयम २७ सय बढी सक्रिय सङ्क्रमित हुँदा २२ जनाको मृत्यु भइसकेको छ । भारतको सङ्क्रमितको दरलाई हेरेर सरकारले थप गम्भीर बन्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology