गोरखा, १४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा अव बंशवादमा आधारित निरंकुस राजतन्त्र अव असम्भव भएको बताउनुभएको छ । गोरखाको भीमसेन थापा गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको आज समुद्घाटन गर्नुहुँदै उहाँले राजवादीहरुले गर्न लागेको भनिएको आन्दोलनतर्फ लक्षित गर्दै २१ औँ शताव्दीको युगमा निरंकुसतन्त्रलाई जनताले स्विकार गर्न नसक्ने बताउनुभयोे ।
नेपाली जनताले युद्ध र आन्दोलनबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले फर्काउन नसक्ने अध्यक्ष दाहालको भनाई छ । ‘‘राजावादी आन्दोलनका नाममा तीनकुने घटनापछि एउटा पात्र पछाडी राखेर फेरी अर्को पात्र सिङ्गारपटार गरेर अगाडी ल्याउन खोजिएको छ, उहाँले भन्नुभयो, ‘‘१५ गतेदेखि फेरि आन्दोलनको कुरा गरिरहेका छन्, त्यो सफल त हुनेवाला छैन्, तर पनि हामी सजग त हुनुपर्छ ।’’
उहाँले सरकारको कमीकमजोरीका कारण जनतामा नैरास्यता आउदा केही असन्तुष्टी बढेको भन्दै आफुहरुले सरकारलाई पनि निरन्तर खवरदारी गर्दै आएको बताउनुभयो । ‘‘नेपालमा राजतन्त्र सक्रिय हुँदा र संघीय लोकतान्त्रिक गणतन्त्र हुँदाको अवस्थालाई तथ्यका आधारमा तुलना गर्दा गणतन्त्रमा गुणात्मक सुधार भएको छ, अध्यक्ष दाहालले भन्नुभयो, ‘‘जनता पुरै गणतन्त्रको पक्षमा छन् ।’’
शान्ति, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको निम्ति काग्रेस र माओवादी विच ऐतिहासिक सम्बन्ध बनेको उल्लेख गर्नुहुँदै उहाँले शान्तिलाई दिगो बनाउनका लागि दुई दल मिलेर जानुको विकल्प नभएको उल्लेख गर्नभयो । ‘‘राजनीति र अरु कुरामा आफ्ना–आफ्ना फरक मत र विचार भएपनि, विवाद भएपनि शान्ति सम्झौतालाई दिगो बनाउन हामी मिलेर जानुको विकल्प छैन् ।’’ उहाँले भन्नुभयो ।
अध्यक्ष दाहालले शान्ति सम्झौताको अझैपनि केही काम टुङग्याउन बाँकी रहेकाले त्यसका निम्ति लिनुपर्ने तत्परता र पहल काग्रेस र माओवादी केन्द्रकै बढी हुने बताउनुभयो ।