गोरखा, १० जेठ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पूर्ण खोप सुनिश्चिता पालिका घोषण गर्नका लागि अन्तिम तयारीमा जुटेको छ ।
अन्तिम तयारीको जिल्ला खोप समन्वय समितिले शुक्रबार अनुगमन गरेको छ । सिरानचोक गाउँपलिकाका स्वास्थ्य शाखा प्रमुखको नेतृत्वमा शुक्रबार पूर्ण खोप सुनिश्चिता घोषणाका लागि पालिकाभित्रका विभिन्न वडाहरुमा पुगी अनुगमन गरेको थियो ।

१५ महिनासम्मका र १६ देखि २३ महिनाका बालवालिका राष्टिूय खोप तालिका अनुसार पूर्ण खोप प्राप्त गरे नगरेको अनुगमन गरिएको हो । बारपाक सुलिकोट गाउँपालिकाको ८ वटै वडामा खोप अनुगमन गरीएको स्वास्थ्य कार्यलय गोरखाका खोप निरिक्षक नानीबाबु दानीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्नका लागि अनुगमन गरिएको हो ।

राष्ट्रिय खोप तालिका अनुसार बच्चा जन्मिएको १५ महिना पुग्दा १३ प्रकारका रोग विरुद्धको खोप लगाइसकेको हुनुपर्ने छ । माघ, फागुन चैत्र मसान्त सम्ममा सबै घरधुरी सर्वेक्षण गरी सबै बालवालिकालाई सबै खोप लगाइएको स्वास्थ्य जनस्वास्थ्य निरीक्षक दानीले बताउनुभयो ।
पालिकाभरि १६ वटा खोप केन्द्रबाट नियमित रुपमा बालबालिकालाई खोप कार्यक्रम संचालन गर्दै आएको बारपाक सुलिकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोदराज भट्टले जानकारी दिनुभयो ।

नियमित रुपमा लगाउनु पर्ने खोप छुटेमा निमोनिया, दादुरा, झाडापखाला, अपाङ्ग हुने लगायतका विभिन्न रोगहरु लाग्ने भएकाले नियमित रुपमा लगाउनुपर्ने खोप छुटाउन नहुने उहाँको भनाइ छ । वडा खोप समन्वय समितिको बैठकले सबैले खोप लगाएपछि पालिकासँग पूर्ण खोप सुनिश्चितता घोषणा गर्न अनुमति लिनुपर्छ ।
पालिकाले अनुमति दिएपछि वडा घोषणा हुन्छ । त्यस्तै, पालिका घोषणा गर्दा जिल्ला खोप समन्वय समितिले अनुमति दिनुपर्ने प्रावधान छ । सोहि अनुमति प्रदान गर्नका लागि जिल्ला खोप समन्वय समितिको टोलीले शुक्रबार पालिकाभित्रका वडाहरुमा अनुगमन गरिएको हो ।
खोप समन्वय समितिले अनुगमन गरेर पूर्ण खोप लगाइएको भेटिएसँगै पूर्णखोप सुनिश्चिता घोषणा गर्न अनुमति दिने निर्णय भएको छ । यहि जेठ १५ गते पूर्णखोप सुनिश्चिता पालिका घोषणा गर्ने तयारीमा रहेको भट्टले बताउनुभयो ।

अनुगमनमा सिरानचोक गाउँपलिकाका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठको नेतृत्वमा थालाजुङ स्वास्थ्य चौकीका हे अ नबराज श्रेष्ठ, पत्रकार महासंघ गोरखाका उपाध्यक्ष अस्मिता सिंखडा, थुमी स्वास्थ्य चौकीका हेअ बिजय राम लोहार, मनकामना आधारभुत स्वास्थ्य चौकीका अहेब धन बहादुर पुन मगर लगायतको उपस्थिति रहेको थियो ।