Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

भूकम्प प्रभावितको पुनर्स्थापना गर्न सरकारलाई आग्रह गर्छु :अध्यक्ष प्रचण्ड


1.8K
Shares

भूकम्प प्रभावितको पुनर्स्थापना गर्न सरकारलाई आग्रह गर्छु :अध्यक्ष प्रचण्ड

काठमाडौ, ६ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूको पुनर्स्थापना गर्न सरकारलाई आग्रह गर्ने बताउनुभएको छ ।

मध्यपहाडी लोकमार्गकेन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ अन्तर्गत मंगलबार बिहान जाजरकोट खलंगामा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भूकम्प प्रभावितहरूको पुनः स्थापनाको विषयमा गम्भीर रूपमा आवाज उठाउने बताउनुभएको हो ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले करिब डेढ वर्षदेखि भूकम्प प्रभावितहरूको बिचल्ली रहेको र सरकारले प्रभावितहरूको पुनः स्थापनामा ध्यान नदिएको भन्दै त्यसतर्फ आवाज उठाउन प्रचण्डलाई आग्रह गरेका थिए ।

सरोकारवालाहरूका प्रश्न सुनेपछि जवाफ दिँदै अध्यक्ष प्रचण्डले जनताको सुझावलाई आफूले गम्भीरतापूर्वक लिएको बताउनुभयो । ‘भूकम्प प्रभावितको सवालमा म गम्भीर छु । त्यो बेला म प्रधानमन्त्री हुँदा आफैं घटनास्थलमा खटिएर तत्काल राहत तथा उद्धारका काममा लागेको तपाईंहरूलाई अवगत नै छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मैले त्यति बेला तत्कालै बजेट पनि छुट्टाएको थिएँ , तर त्यो अनुसार काम हुन नसक्नु दुःखद कुरा हो ।’

जाजरकोट खलंगामा आयोजना गरिएको अन्तरसंवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकार, नागरिक समाज तथा स्थानीय सरोकारवालासँग विचार आदानप्रदान गर्नुभयो । कार्यक्रममा बोल्दै सहभागी सरोकारवालाहरूले जाजरकोटमा भेरी कोरिडोर, मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा लोकमार्ग जस्ता विकास आयोजना अघि बढेको बताउनुभयो ।

गाउँ–गाउँमा सडक पुगेको, तर भूकम्प प्रभावितहरूको पुनर्स्थापना नभएको तथा नलगाड जलविद्युत् आयोजना अझै अघि नबढेको भन्दै त्यसलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

प्रदेश सरकार कमजोर भएको र जनतामा यसको प्रभावकारितामाथि प्रश्न उठेको भन्दै सरोकारवालाहरूले संघीयताको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले संघीयताको मर्मअनुसार अधिकार प्रत्यायोजन नहुँदा जनगुनासो बढेको र त्यसलाई सम्बोधन गर्दै संघीयताको प्रभावकारिता बढाउन सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology