गोरखा, २४ बैशाख । गोरखा सदरमुकाममा राखिएका क्लोज सर्किट सिसी० क्यामेरा आधाभन्दा बढी प्रयोग बिहिन भएको छ । उचित मर्मत संभार र प्रयाप्त बजेट नहुदा सडक सुरक्षाको लागी भनेर जडान गरिएका क्यामेरा प्रयोग विहीन भएको हो ।
सामुदायिक सेवा केन्द्र गोरखाले सडक सुरक्षा तथा प्रभावकारी प्रहरी सेवाका लागी भनेर जडान गरिदिएको ८० वटा सिसी क्यामेरा मध्य ४५ वटा क्यामेरा प्रयोग बिहीन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक ईन्द्रप्रसाद सुवेदीले जानाकारी दिनुभयो ।
अहिले केबल ३५ वटा मात्र क्यामेरा सञ्चालनमा आएको सुवेदीको भनाई छ । उहाँका अनुसार बर्षा र चट्याङ्गका कारण सडकमा राखिएको ठुलो संख्याको क्यामेरा प्रयोग बिहीन भएको हो ।
‘मर्मतको लागी गोरखा नगरपालिका संग समन्वय भईरहेको छ’ उहाँले भन्नुभयो ‘सिसी क्यामेरा मर्मतको लागी कार्यालय संग पप्र्यात बजेट नहुदा समस्या भएको हो ।’
सामुदायिक सेवा केन्द्र गोरखाले अच्यूतलाल श्रेष्ठ अध्यक्ष भएको बेला विक्रम सम्बत २०७४ सालमा सडक सुरक्षा र प्रहरीको सेवा प्रवाहमा सहजता ल्याउनभन्दै सदरमुकामको अधिकांस स्थानमा क्यामेरा जडान गरेको थियो ।
गोरखा नगरपालिका, बैंक तथा बित्तिय संस्था र टोल बिकास संस्था तथा विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा गोरखा नगरपालिका–६, ७ र ८ को मुख्य बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको थियो ।
त्यस यता बर्षेनी क्यामेरा थपिएको भएता पनि समयमा मर्मत–संभार र पर्याप्त बजेट नहुदा क्यामेरा सञ्चालनमा समस्या हुदै आएको हो ।
सदरमुकामको बराह, गोरखा अस्पताल क्षेत्र र हरमटारी क्षेत्रका केही क्यामेरा मात्र सञ्चालनमा आएको प्रहरीको सञ्चार शाखाले जानाकारी दिएको छ ।
सामुदायिक सेवा केन्द्रले विभिन्न क्षेत्रबाट आर्थिक संकलन गरेर गोरखा नगरपालिका–१३ को अबुवा, ११ को १२ किलो बजार, ८ को खोलखोले, पेट्रोल पप्प, बराह क्षेत्र, ६ को हरमटारी, कालिमाटी बजार, शक्तिचोक, पुरानो बसपार्क, पदेली, ठुलो आँगन, तिनधारे, गणेशपाटन क्षेत्र, पाटेचौर र गोरखा अस्पताल क्षेत्र तथा चालिसे धारामामा क्यामेरा राखेको थियो ।
त्यस्तैगरी, वडा नम्बर ७ को मसार, नयाँबजार क्षेत्र, धारापानी र रोहटे पानी तथा वडा नम्बर ५ को चिल्ड्रेन पार्क र वरपरको सडक क्षेत्रमा क्यामेरा राखेको थियो ।
बिगतमा जस्तो सुकै मौसममा पनि सञ्चालन भएको क्यामेरा पछिल्लो समय समयमा मर्मत र पैसाको अभाव देखाएर क्यामेरा सञ्चालन गर्न नसक्दा सदरमुकाममा भएका कतीपय अपराधको समेत अनुसन्धानमा समस्या हुन थालेको छ ।