गोरखा, १२ बैशाख ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाबाट निर्वाचित भएपछि आफु अलिबढी काठमाडौँ अल्झिएको भएपनि गोरखालाई नविर्सिएको बताउनु भएको छ ।
गोरखा भुकम्पको केन्द्रबिन्दु बारपाक सुलिकोट गाउँपालिका–२, बारपाकमा आज आयोजित भुकम्प स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले गोरखाको विकास निर्माणको कामलाई अगाडी बढाउन सक्दो पहल र प्रत्यन्न गरिरहेको बताउनुभयो ।
गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सांसद समेत रहनु भएका उहाँले गोरखाको विकासका लागि गरेका प्रतिवद्धताहरु नविर्सिएको र जनप्रतिनिधिको हैसियतले यहाँका जनताको समस्यालाई नजिकबाट बुझेको उल्लेख गर्नुभयो ।
‘‘प्रतिवद्धता अनुसार गर्न सकिएन गर्न, पाइएन भन्ने मलाई पनि छ, उहाँले भन्नुभयो, आउने दुई साढे दुई बर्ष बाँकी छ, अवको बाँकी समय मैले यहाँको विकास निर्माणको क्षेत्रमा विगतमा भन्दा अझबढी ध्यान दिनुर्पछ तर केही पनि भएन, गरिएन भन्ने भाष्य निर्माण गर्न खोजिएको छ त्यो होइन्, यहाँको विकास कामलाई अगाडी बढाउन सक्दो पहल र प्रयास भइरहेको छ ।’’
अध्यक्ष दाहालले भुकम्पको केन्द्रबिन्दु बारपाकमा २८ करोडको ढल निकासको परियोजना सुरुभएको तथा १० करोडको बारपाक बृहत खानेपानीको स्रोत सुनिश्चित भइसकेकाले बारपाकको विकास अघि बढेको बताउनुभयो ।
अहिले संघीय लोकतान्त्रिक गणतन्त्र माथि प्रहार गर्ने जमर्के भइरहेकाले त्यसलाई बिरुद्ध सवै एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘‘गणतन्त्रले केही पनि भएन् भनेर त्यसमाथि प्रहार गर्ने जमर्के भइरहेको छ , उहाँले भन्नुभयो, इतिहासलाई फर्काउन खोज्ने प्रतिक्रियाबादी र तानाशाही प्रवतिलाई परास्त गर्नुपर्ने आवश्यकता छ ।’’