काठमाडौ, ९ बैशाख । कम्युनिस्ट घटकहरूले आज छुट्टाछुट्टै कार्यक्रम गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना दिवस मनाउँदै छन् । एमाले, एकीकृत समाजवादी, नेकपालगायतले स्थापना दिवसको अवसरमा काठमाडौँसहित जिल्ला–जिल्लामा पनि कार्यक्रम आयोजना गरेका छन् ।
माओवादीले भने औपचारिक कार्यक्रम राखेको छैन । लेनिन जयन्तीको अवसर पारेर पुष्पलाल श्रेष्ठको अगुवाइमा २२ अप्रिल १९४९ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।
पुष्पलालसहित नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी श्रेष्ठ कम्युनिष्ट पार्टीका संस्थापक हुन् । निरंकुश शासन अन्त्य, जनताको पूर्ण नागरिक स्वतन्त्रता प्रत्याभूति, किसान तथा मजदुरको अधिकारका लागि किसान मजदुरकै सरकार गठन, सामन्तवाद साम्राज्यवादविरोधी नवप्रजातन्त्रका लागि कम्युनिस्ट पार्टी स्थापना भएको घोषणा गरिएको थियो ।
सामन्तवाद एवं साम्राज्यवादविरोधी नयाँ जनवादी क्रान्ति, किसान र मजदुरको नेतृत्वमा निर्वाचित सरकार, संविधानसभाबाट संविधान निर्माण, क्रान्तिकारी भूमिसुधार, श्रमिक एवं किसानको अधिकारको सुनिश्चितता, स्वाधीन अर्थतन्त्र निर्माण र सर्वसुलभ शिक्षाजस्ता आधारभूत विषय प्रथम घोषणापत्रमा उल्लेख गरिएको थियो ।
एमालेले नेकपा स्थापनाको ७६ वर्षगाँठको अवसरमा सात नेतालाई ’कम्युनिस्ट योद्धा’ सम्मानबाट सम्मानित गर्दै छ । माओवादीले भने औपचारिक कार्यक्रम राखेको छैन ।
एकीकृत समाजवादीले कम्युनिस्ट पार्टीको स्थापना दिवसको सन्दर्भ पारेर मंगलबार राजधानीमा विचार गोष्ठी आयोजना गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बृहत् ध्रुवीकरण कार्यक्रम आयोजना गरेको छ ।