गोरखा, २ वैशाख । गोरखामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । गोरखा–आँबुखैरेनी सडकखण्ड अन्र्तगत गोरखा नगरपालिका–९, ठिगुरेस्वाँरामा बा. ८८ प. ९७६२ मोटरसाइकल दुर्घटना हुँदा चालक २४ बर्षका केशव पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिनुभयो ।
भीमसेन थापा गाउँपालिका–६, अश्राङ घर भएका पाण्डेको उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो । विहान गोरखाबाट काठमाडौँतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।
दुर्घटनामा मोटरसाइकल पछाडी सवार सोही ठाउँका १८ बर्षका रविन पाण्डे गम्भीर घाइते हुनुभएको छ । घाइतेलाई गोरखा अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित बीर अस्पताल रिफर गरिएको उहाँले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।