गोरखा, २३ चैत । काठमाडौं उपत्यकामा एक सातादेखि वायु प्रदूषणको स्तर खराब रहँदै आएको छ । वायु गुणस्तर मापन गर्ने कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौं उपत्यका विश्वको पहिलो प्रदुषित शहरमा रहेको छ ।
अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) १ सय ९३ रहेको छ । यसलाई अस्वस्थकर अवस्था मानिन्छ । यो अघिल्ला दिनको तुलनामा केही कम हो ।
विश्वका प्रदूषित शहरमध्ये दोस्रो नम्बरमा रहेको चीनको वुहानमा एक्यूआई १ सय ६६ रहेको छ । वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ भने ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ ।
यस्तै, २ सय १ देखि ३ सयसम्म निकै अस्वस्थ, १ सय ५१ देखि २ सयसम्म अस्वस्थ, १ सय १ देखि १ सय ५० हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, ५१ देखि १ सय मध्यम मानिन्छ ।
जल तथा मौसम विज्ञान विभागले चैत, वैशाख र जेठ महिनामा डढेलो लाग्ने र पानी नपरेसम्म वायु प्रदूषण उच्च हुने सम्भावना रहेकाले अत्यावश्यक काम बाहेक प्रदुषण उच्च भएको समयमा घर बाहिर ननिस्कन अपिल गर्दै आएको छ ।