गोरखा, १० चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले माओवादी केन्द्र विना संविधान संसोधन गर्ने कुरा असम्भव रहेको बताउनु भएको छ । तमु मुक्तिमोर्चा गोरखाको छैटौ जिल्ला सम्मेलनलाई शनिबार गोरखामा सम्बोधन गर्नुहुँदै उहाँले काग्रेस, एमाले र सत्तामा रहेका दलहरुबाट मात्र संविधान संसोधन हुन नसक्ने बताउनुभयो ।
‘‘यो संविधान माओवादीसंग सम्झौता गरेर आएको संविधान हो, महासचिव गुरुङले भन्नुभयो, ‘‘संविधान संसोधन गर्नै पर्नेभयो भनेपनि अहिलेको संविधानको ‘स्टेक हेल्डर’ माओवादी पनि भएकाले माओवादीसंगको सहमति विना त संसोधन हुन सक्दैन् ।’’ उहाँले माओवादी विना नै संविधान संसोधन गर्ने काग्रेस एमाले सहमतिले प्रतिगामी शक्तिहरु च्लमलाउन थालेको दावी गर्नुभयो ।
‘‘अव देशमा राजतन्त्र असम्भव छ, प्रतिगामी शक्तिहरुले खाली उचाल्ने, पर्छाने र राष्ट्रिय राजनीतिमा अस्थिरता सृजना गर्ने काम मात्र भइरहेको छ, महासचिव गुरुङले भन्नुभयो, ‘‘यो अवस्थालाई ध्यानमा राखेर प्रतिगमनको विरोध र भण्डाफोर गर्नुपर्छ ।’’ सरकारको कमिकमजोरीलाई पनि सशक्त ढंगबाट उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
महासचिव गुरुङले अहिले काग्रेस र एमाले असफल हुँदा त्यसको विकल्प माओवादी केन्द्र भएकोभन्दै राजसंस्था विकल्प हुनै नसक्ने स्पस्ट पार्नुभयो । ‘‘दरबारको असफलताको विकल्प निश्चित रुपमा काग्रेस, एमालेदेखि लिएर माओवादीसम्म नै हो, उहाँले भन्नुभयो, ‘‘तर अव काँग्रेस एमाले असफल हुँदा त्यसको विकल्प माओवादी हो, दरबारिया होइन् र हुनै सक्दैन् ।’’
मुलुकको परिवर्तनका लागि माओवादीले सवैलाई गोलबन्द गरेर अगाडी बढ्नुपर्ने भन्दै महासचिव गुरुङले फेरी माओवादीले अभिभावकीय भूमिका लिनुपर्ने अबस्था आएको बताउनुभयो ।