गोखरा, ३ चैत । गोरखामा गन्धर्व समुदायका महिलालाई सारङ्गी बजाउने तालिम सुरु गरिएको छ । किशोरीदेखि वयस्क महिला पनि यो तालिममा सहभागी भएका छन् ।
गोरखा नगरपालिका–७, धारापानीकी ६० वर्षकी दुर्गादेवी गान्धारी राम्रो गीत गाउनु हुन्छ । सानै उमेरमा साराङ्गी भिरेर गाउँगाउँमा साराङ्गीको धुनमा गीत सुनाउदै हिड्ने आफ्नो बुबाको सरसङ्गतले दुर्गादेवीलाई गाउन सक्ने त बनायो तर साराङ्गी तारमा औला चलाएर संगीत निकाल्न जान्नुभएन ।
परिवारका सदस्यले पनि विस्तारै परम्परागत गन्धर्व पेशा छोड्दै गएपछि त्यसलाई जर्गेना गर्न भन्दै आजभोली बुढेसकालमा साराङ्गी सिक्न साराङ्गीको धुनमा खेल्न थाल्नु भएको छ । साराङ्गी सिक्न अहिले गन्धर्व समुदायका ७० वर्षकी महिलादेखि युवायुवतीहरु पनि उत्तिकै उत्साहित भएका छन् । हजुरआमादेखि नातिनीसम्म सबै साराङ्गी सिक्दा साच्चै अव भूल्दै गएको गन्धर्व समुदायको पुख्र्यौली पेशाको जर्गेना हुन्छ की भन्ने लाग्ने गरेको छ ।
आफ्नो वुवा आमा, हजुरवुवा र हजुरआमाको सपना पुरा गर्न साराङ्गी बजाउन सिकेको बताउनुहुन्छ २१ वर्षकी अनु गान्धारी । बुवाले औला चालेको हेरेको भरमा साराङ्गी बजाउन सिक्नु भएकी भगवती गान्धारी भने अहिले आफै आफ्नो समुदायका महिलालाई साराङ्गी बजाउन सिकाउनु हुन्छ । आफ्नो जातिको मुख्य पेशा साराङ्गी बाजा लोप हुँदै गएपछि गन्धर्व समुदायका महिलालाई भेला गरेर उहाँले साराङ्गी बजाउन सिकाउन थाल्नु भएको हो । अक्षर चिन्नेहरू देखि नचिन्नेहरुसम्म पनि साराङ्गी सिक्न तालिममा सहभागी भएको प्रशिक्षक भगवती गान्धारीको भनाइ छ ।