काठमाडौँ, २७ फागुन । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीलाई लोकतन्त्रभित्र आफ्नो ठाउँ खोज्न सुझाव दिनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।
‘‘लोकतन्त्र जति प्रचण्डको हो त्यत्ति नै व्यक्ति ज्ञानेन्द्रको हो भन्ने मान्यता हामी सबै राजनीतिक दलले राखेका छौँ’’,उहाँले भन्नुभयो, ‘‘राजावादीलाई मेरो आग्रह छ लोकतन्त्रभित्र आफ्नो ठाउँ खोज्नुहोस् ।’’
राजावादी सक्रिय हुनुको पछाडि सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष रहेको टिप्पणी समेत प्रचण्डले गर्नुभएको छ । उहाँले राजावादी सक्रिय हुनुको पछाडि संगठित प्रयास रहेको आशंका व्यक्त गर्नुभएको हो । उहाँले व्यवस्था उल्ट्याउनका लागि देशभित्र र देशबाहिरका चलखेल समेत मिसिएको बताउनुभयो । प्रचण्डले नेपालमा शान्ति प्रक्रिया मात्र नभई गणतन्त्रणको इतिहास समेत मौलिक र उदार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘राजावादीका पछि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र देश बाहिरका चलखेल पनि मिसिएका छन् । तर यस खालका चलखेल आजमात्र भएका होइनन् ।
नेपालमा यस्ता खालका चलखेल हिजो पनि थिए, अस्ति पनि थिए । तर अहिले किन वृद्धि भयो मुख्यतः प्रश्न यहाँनिर रहेको छ ।’’ उहाँले पूर्व राजाको सुरक्षासहित ल्याइएको गणतन्त्रमाथि प्रहार गर्न खोजिए अबको क्रान्ति निकै निर्मम हुने समेत चेतावनी दिनुभयो ।