गोरखा, २६ फागुन । गन्धर्व समुदायको परम्परागत पेशाको रुपमा रहेको साराङ्गी बजाउने कलाको संरक्षण गर्न गन्धर्व समुदायका महिलाहरु साराङ्गी बजाउन सिक्न थालेका छन् । गोरखा नगरपालिकाले वडा नम्बर–७ स्थित धारपानीमा गन्धर्व समुदायका महिलाका लागि तीन महिने साराङ्गी बजाउने तालिम सञ्चालन गरिरहेको वडाध्यक्ष बिष्णुबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
तालिममा गन्धर्व समुदायका १५ जना महिलाहरु सहभागीता रहेको छ । साराङ्गी बजाएर आर्थिक जोहो गर्दै परिवार पाल्ने अधिकासं गन्धर्व समुदायका पछिल्लो पुस्ताका धेरैले साराङ्गी बजाउन जान्दैनन् । परम्परागत सीपको हस्तान्तरण नहुँदा साराङ्गी बजाउने कला लोप हुने अवस्थामा पुगेपछि गन्धर्व समुदायले वडा कार्यालयमार्फत बजेट नै विनियोजन गर्न लगाएर साराङ्गी बजाउन सिक्न थालेका हुन् ।
माघको १२ गतेदेखि सुरु भएको तालिम तीन महिनासम्म सञ्चालन हुने प्रशिक्षक भगवती गान्धारीले जानकारी दिनुभयो । ‘‘गत बर्षमा पनि तीन महिना साराङ्गी बजाउने तालिम सञ्चालन भएको थियो, उहाँले भन्नुभयो, ‘‘उक्त तालिम पर्याप्त नभएपछि फेरि यसपटक पनि बजेट बिनियोजनका लागि अनुरोध गरेर तालिम सञ्चालन गरिएको हो ।’’
तीन महिनामा साराङ्गी बजाउनका लागि आधारभूत ज्ञान प्रदान गर्न सकिने प्रशिक्षक गान्धारीको भनाई छ । ‘‘सुरुमा संगीतका स्वरहरुको बारेमा जानकारी दिइएको र अहिले गीतमा अलिअलि भएपनि उहाँहरुलाई नोट लेखेर दिएपछि साराङ्गी बजाउनसक्ने हुनुभएको छ, उहाँले भन्नुभयो, ‘‘फोहोर नसिकेकाहरु पनि केही यसपटकको तालिममा उत्साहित भएर सहभागी भएका छन् ।’’
अक्षर नचिनेका महिलाहरु समेत औलाको भरमा साराङ्गी सिकिरहेका छन्् । साराङ्गी बाजा राष्ट्रिय बाजा पनि भएको र गन्धर्व समुदायमा साराङ्गी बाजा लोप हुँदै गएकाले परम्परागत संस्कृतिको जगर्ने गर्ने पनि तालिमको उद्देस्य रहेको छ । तालिमका लागि स्थानीय स्तरमा निर्माण गरिएको साराङ्गी खरिद गरेर ल्याएर प्रशिक्षण दिइरहेको उहाँले बताउनुभयो ।