गोरखा, १६ फागुन । गोरखाको दुई प्रमख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर जिल्लाको पर्यटन प्रर्वद्धनका लागि मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको पदयात्रा आजबाट सुरु भएको छ । गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सहयोगमा रोटरी क्लब अफ गोरखाको आयोजनामा पदयात्रा थालिएको हो ।
‘‘मनकामनादेखि गोरखकालीसम्मको पदमार्गलाई स्थापित गर्न सकियो भने मनकामना मन्दिर आउने झक्तजन गोरखकाली मन्दिरसम्म पुग्ने अवस्थाको सृजना हुन्छ, क्लबका अध्यक्ष बिनोदकुमार बस्न्यातले भन्नुभयो, ‘‘यसले गोरखाको पर्यटन विकासमा पनि थप टेवा पुग्नेछ ।’’ पदयात्राले पदमार्गको पहिचानका लागि मद्दत पुग्ने विश्वास समेत लिइएको छ ।
मनकामना मन्दिरसम्म आउने धार्मिक पर्यटकलाई गोरखकाली मन्दिरसम्म पु¥याउनका पदयात्राको महत्व रहेको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले बताउनुभयो । उक्त पदमार्गमा नेपालकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यको रुपमा रहेको मनकामना मन्दिर, बक्रेश्वरी मन्दिर, शिद्ध लखन थापाको गुफा, नेपालका प्रथम सहिद लखन थापाको जन्मथलोमा काउँले भंगार, कुहिरे भिर हुँदै गोरखकाली मन्दिर पुग्न सकिन्छ ।
‘‘देशभरीका नागरिक नेपाल एकिकरणको इतिहास बुझ्न एकपटक गोरखा आउनुपर्छ, उहाँले भन्नुभयो, ‘‘हामीले गोरखा भ्रमण बर्षको घोषणा गरेर गोरखामा पर्यटन प्रर्वद्धनका लागि योजना बनाएर पनि काम गरिरहेका छौँ ।’’ पदयात्रामा निस्किएको टोली आज सहिद लखन गाउँपालिकामा बास बसेर शनिबार (भोली) गोरखकाली मन्दिरमा पुगेर यात्रा समापन हुनेछ ।
मनकामना मन्दिर र गोरखकाली मन्दिरको ऐतिहासिक र धार्मिक सम्बन्ध भएपनि एकआपसमा जोडेर पर्यटन प्रर्वद्धन गर्न नसकिएको नगरप्रमुख रानामगरको भनाई छ । ‘‘यी दुई मन्दिरका बिच दिदिबहिनीको सम्बन्ध रहेको पाइन्छ, नगरप्रमुख रानामगरले भन्नुभयो, मनकामना मन्दिरको दर्शन गर्ने दर्शनार्थीले गोरखकाली मन्दिरको पनि दर्शन गरे चाहेको सवै मनोकाक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास पनि रहदैँ आएको छ ।’’ क्लबले सन् २०१९ देखि हरेक बर्ष मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्म पदयात्रा गर्दै आएको छ ।